biplab-maobadiकाठमाडौं, २ फागुन । नेकपा (माओवादी) को आठौँ महाधिवेशन आइतबारबाट सुरु भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले खुलामञ्चमा आयोजित सभामा महाधिवेशन उद्घाटन गरे । उद्घाटनअघि माओवादीले काठमाडौंको मुख्य तीन स्थान कालिमाटी, लैनचौर र बबरमहलबाट र्‍याली निकालेको थियो ।

 र्‍यालीका सहभागीले रातो झन्डा बाकेर रातै क्याप लगाएका थिए । सहिदगेटमा तीनवटै र्‍याली मिसिएका थिए । सहिदगेटबाट र्‍यालीको नेतृत्व महासचिव चन्दले गरेका थिए । र्‍यालीमा सहभागी माओवादी नेता–कार्यकर्ताले ‘जनयुद्ध दिवस भव्य रूपमा मनाऔँ,’ ‘एकीकृत जनक्रान्ति जिन्दाबाद’ जस्ता नारा लगाएका थिए ।

थवाङमा बन्दसत्र
राजधानी काठमाडौंमा महाधिवेशनको उद्घाटन भए पनि माओवादीले बन्दसत्र भने जनयुद्धको उद्गमस्थल थवाङमा आयोजना गर्ने भएको छ । ५ फागुनबाट सुरु हुने बन्दसत्र पाँचै दिन चल्ने प्रचार समितिका सदस्य जन्मदेव जैसीले बताए । बन्दसत्रका लागि सोमबार र मंगलबारबाट प्रतिनिधिहरू त्यसतर्फ प्रस्थान गर्ने जैसीको भनाइ छ । महाधिवेशनमा करिब साढे आठ सय प्रतिनिधि सहभागी हुँदै छन् ।

एकीकृत जनक्रान्तिको कार्यदिशा
महाधिवेशनमा महासचिव चन्दले एकीकृत जनक्रान्तिको कार्यदिशासहितको राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेस गर्दै छन् । कार्यदिशा जनक्रान्ति नै भए पनि त्यसको रूप कस्तो हुनेबारे माओवादीले केही बताएको छैन ।

जनविद्रोहमार्फत अघि बढ्न खोजेको माओवादीले हिंसात्मक आन्दोलन गर्ने कि नगर्नेलगायतका विषयमा बन्दसत्रमा घनीभूत छलफल गर्ने बताइएको छ । यद्यपि, महासचिवको प्रतिवेदन अहिलेसम्म गोप्य राखिएको छ । महाधिवेशनको सम्मुखमा भ्रष्ट र दलालमाथि कारबाही गर्ने भन्दै माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि दुव्र्यवहार गर्दै कालोमोसो दलेको थियो ।

पार्टीको नाम फेर्ने तयारी
माओवादीले महाधिवेशनबाटै पार्टीको नाम फेर्ने विषयमा छलफल गर्दै छ । महासचिव चन्दले राजनीतिक प्रस्तावमा पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने प्रस्ताव गरेको स्रोतले जनाएको छ ।

विप्लवसहित केन्द्रीय नेता एउटै ड्रेस कोडमा
महाधिवेशनमा महासचिव चन्दसहित ६१ सदस्यीय केन्द्रीय समितिका नेता एउटै ‘ड्रेस कोड’ मञ्चमा देखा परेका थिए । प्रायः सबै नेताले खैरो रङको कोट र रातो टोपी लगाएका थिए । माओत्सेतुङले लगाउने ‘ड्रेस कोड’मा माओवादी नेता मञ्चमा देखा परेका हुन् ।

‘सबै समस्याको जड संसदीय व्यवस्था’
नेकपा (माओवादी) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिलेका सबै समस्याको जड संसदीय व्यवस्था भएकाले नयाँ जनवादी व्यवस्थाका निम्ति क्रान्ति अघि बढाउनुपर्ने बताएका छन् । खुलामञ्चमा भएको आठौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेका सबै विभेद र असमानता संसदीय व्यवस्थाका उपज हुन्, यसलाई ढाल्न क्रान्ति गरेर नयाँ समाजवादी व्यवस्थामा जानुपर्छ ।’ तर, क्रान्तिको स्वरूप कस्तो हुने भन्ने उनले केही खुलाएनन् । उनले जनयुद्धले उठाएका मुद्दा र सपना पूरा हुन नसकेको भन्दै प्रचण्ड र बाबुराम भट्टराईले जनयुद्ध दिवस मनाउने नैतिक अधिकार गुमाइसकेको दाबी पनि गरे । ‘जनयुद्धका योद्धाहरूको सपना पूरा भएन, बीचैमा ठूलो धोका भयो,’ विप्लवले भने, ‘त्यसैले जनयुद्धको नाममा प्रचण्ड र बाबुरामहरूले कमान्डर दाबी गर्ने नैतिक अधिकार गुमाइसकेका छन्, अब नयाँ ढंगले जनक्रान्तिलाई उठाउनुपर्ने आवश्यकता छ ।’

सम्बोधनको अधिकांश समय उनले प्रधानमन्त्री प्रचण्ड र कांग्रेसको आलोचनामा खर्चिए । प्रचण्डले भारतसँग २५ बुँदे सम्झौता गरेर राष्ट्रघात गरेको विप्लवले आरोप लगाए । बिप्पा सम्झौतासँगै सुरु भएको राष्ट्रघातको शृंखला २५ बुँदे सम्झौतासम्म पुग्दा उत्कर्ष रूप लिएको उनको दाबी छ । ‘प्रचण्ड हामीलाई भारतसँगको असमान सन्धि–सम्झौता खारेज हुनुपर्छ भन्दै थिए तर होइन रहेछ, ती त सबै नक्कली कुरा रहेछन्,’ विप्लवले भने, ‘भारत भ्रमणमा २५ बुँदे सम्झौता गरेर राष्ट्रिय स्वधीनतालाई दाउमा राखेपछि उनको असली नियत के हो भन्ने प्रस्ट भइसक्यो ।’ उनले सिके राउतलाई जस्तै माओवादीका नेता–कार्यकर्ता पक्राउ गरेर जेल हाल्ने षड्यन्त्र भइरहेको दाबी गर्दै त्यस्तो हर्कत गरिए ठूलो जनविद्रोह हुने चेतावनी पनि दिए ।आजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया