काठमाडौं, ३ फागुन । व्यवस्थापिका संसदमा डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालको प्रतिनिधित्व हुने भएको छ ।

नयाँ शक्ति पार्टी, नेपाल र गंगा चौधरी सत्गौहाले नेतृत्व गरेको थरुहट तराई पार्टी नेपाल (लोकतान्त्रिक) बीच सोमबार पार्टी एकता भएसँगै संसदमा सो पार्टीको प्रतिनिधित्व भएको हो ।

चौधरी सांसद हुन् र उनी व्यवस्थापिका संसदको विधायन समितिकी सभापति छिन् ।व्यवस्थापिका संसद सदस्य (सांसद) पद त्यागेर भट्टराईले नयाँ शक्ति पार्टी, नेपाल खोलेका थिए । दुई पार्टीबीच सोमबार भएको एकतासँगै एकीकृत पार्टीको नाम नयाँ शक्ति नेपाल नै राख्न दुवै पार्टी सहमत भएका छन् ।

सोमबार नयाँ शक्ति पार्टी, नेपालको केन्द्रीय कार्यालय बबरमहलमा दुवै पार्टीको बैठक बसी पार्टी एकता गर्ने निर्णय भएको हो । सोमबार नै दुवै पार्टीको एकता भेला पनि सम्पन्न भएको छ । भेलाले पार्टी एकताको निर्णयलाई अनुमोदन गरेको थियो । एकता भेलाले निर्वाचन आयोगमा दर्ता भएका दुवै पार्टीबीच एकता भई नयाँ शक्ति पार्टी, नेपालको विधान, पार्टीको झन्डा, प्रस्तावित चुनाव चिह्न नै एकीकृत पार्टीको विधान, झन्डा र चुनाव चिह्न हुने निर्णयसमेत गरेको छ ।

एकता भेलामा नयाँ शक्ति पार्टीका संयोजक डा. भट्टराईले अब नयाँ शक्ति पार्टी, नेपालले केही कानुनी प्रक्रिया पूरा गरेपछि संसद्मा प्रतिनिधित्व गर्ने जानकारी गराए । गंगा चौधरीले आफूले अब नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट संसद्मा भूमिका खेल्ने बताउँदै आफूलाई सल्लाह सुझाव दिन नयाँ शक्तिका नेतालाई आग्रहसमेत गरिन् । नयाँ शक्तिले थारू समुदायका एजेन्डालाई समर्थन गर्ने प्रतिबद्धता जनाएकाले पार्टी एकता गरिएको चौधरीको भनाइ छ । सोमबार नै जनमुक्ति पार्टीका उपाध्यक्ष राजवंशी चौधरीसहितको समूह पनि नयाँ शक्ति पार्टी नेपालमा प्रवेश गरेको सो पार्टीले जनाएको छ ।आजको राजधानी दैनिकमा खबर छ।

तपाईको प्रतिक्रिया