केपी उपाध्याय  (नयाँ दिल्ली, भारत)

KP-Upadyaya

पूर्व-पश्चिम राजमार्गमा पर्ने धनुषा जिल्लाको मनुहवा मेरो गाउँको नाम हो। धानका बालालहलह झुलेका पहेंला खेतबाट बहने खुश्बु मादक लाग्छ । आफुलार्इ भुमिपुत्र हुँ भन्दा बडो भाग्यमानी महसुस गर्छु। घर नजिकैको तोरीबारीमा फुलेका पहेंला फुलहरु मेरा दिनका साइत बन्छन्। हजारौं जुनीहरु यहीँ जन्मिन पाँउ,स्वर्गको टुक्रा झैं लाग्छ, मेरो गाउँ।

रामकृष्ण ढकालले गाएजस्तो हरेक विहान हिमालदेख्न  त पाउँदिन । तर, टाढासम्म फैलिएका हरिया फाँटहरु देख्न पाउनु पनि मेरो अहोभाग्य हो । मलार्इ थाहा छ, यो पनि नेपाल हो, मेरो देश।

हरेकपटक “सयौं थुंगा फूलका हामी, एउटै माला नेपाली ….” गाउँदा रास्ट्रप्रेमले छाती फुल्छ। मैथिली मेरो मातृभाषा हो, नेपाली  भाषापछि सबैभन्दा बढी बोलिने भाषा। काठमाडौंतिर हामी मधेसीलाई मान्छे होइन, मधेसी हो भन्छन् अरे। जे होस्, म नेपाली हुनुमा गर्व गर्छु।

अचेल मेरो गाउँ नयाँ खबरले तातेको छ। ठूलाबडा भन्ने गर्छन्, नयाँ संविधानमा हामी मधेसीको अधिकार कटौती गरिँदै छ रे, बिहे गर्न लागेका मेरा दाजु विहारबाट हुनेवाली भाउजू नागरिकता नपाउने हुन् कि भनेर तनाबमा छन्। यसै पनि हल्लैहल्लाले चल्ने मेरो गाउँ, अधिकारको विषयमा अति नै गम्भीर बनेको छ।

आन्दोलन नै अन्तिम बिकल्प हो भन्दै नेताहरुगाउँ चाहार्न थालेका छन्। अधिक गाउँले निरक्षर छन्, उनीहरु संविधानजस्तो कम्प्लेक्स विषयमा आफ्नो मत बनाउन सक्षम छैनन्। नागरिकता पाउनुपर्छ भन्नेसम्म थाहा छ, तर कस्तो, किन कसरी जस्ता कुरा बुझ्न भारी नै हुने गर्छ। यस्ता विषयमा नेता, जमिनदार र ठुलाहरुमै भर पर्नु अन्तिम विकल्प हुन्थ्यो। आधा गाउँ आन्दोलनमा सरिक हुने भयो।

कोहि भन्छन् यो स्वभिमानको लडाइँ हो। मधेसीले बोल्ने   भाषा, रहनसहन, संस्कृतिको छिमेकी मुलुक भारतका युपी बिहार राज्यसँग समानता छ। यही समानता अपहेलनाको कारण बन्नसक्दैन। जानी वा नजानी पहाडी मुलका दाजुभाइले हामीमाथि गरेको हेपाइ स्वीकार गरुन्। एकजुट हुन आत्मसमीक्षा सबैले गर्न जरुरी हुन्छ।

कतिले सोच्ने गर्छन् मोटरबाटो, कलकारखाना,भौगोलिक सहजता तरार्इ मधेसमै छ, कसरी हेपियो त ? जब आफ्नै देशमा आफैलाई “धोती” भन्दै पराय व्यहार गरिन्छ,  तब सुनकै थालीमा चौरासी ब्यन्जन खानुपरे पनि मन पोल्दो रहेछ।

शासकहरु त सुगम काठमाडौमा मस्त निदाएका छन् । काठमाडौ मधेस नजिकै छ। समान हकका निम्ति ती हिमाली दाजुभाइको आवाज पनि मधेसले सुनाइदिनु पर्छ

मलाइ थाहा छ, रुकुम रोल्पा अनि मुगु डोल्पाको विकटता। त्यहाँ बस्ने दाजुभाइलाई कति गाह्रो हुँदो होला, न गतिलो बाटो छ, न हाम्रो जस्तो जमिनबाट पानी निकाल्न सकिन्छ। चामल, नुनको लागि हप्तौं लाइन लाग्नुपर्ने अबस्था छ। उनीहरुका दु:ख पनि शासकले सुन्न सक्दैनन् । किनकि शासकहरु त सुगम काठमाडौमा मस्त निदाएका छन्। काठमाडौ मधेस नजिकै छ। समान हकका निम्ति ती हिमाली दाजुभाइको आवाज पनि मधेसले सुनाइदिनु पर्छ । र, हाम्रो आत्मसम्मानका लागि सबैले साथ दिनुपर्छ।

सय थरी बाजा एउटै ताल भएपछि सन्सारको कुनै शक्तिले हाम्रो एकतालार्इ हल्लाउन सक्दैन, यो म जस्ता देशभक्त मधेसीको अटुट विश्वास हो।

अन्तत, आन्दोलन हुने भयो। योपटक आन्दोलनको जरो आत्मसम्मानको आशाबाट थियो। तर, जबजब जनता स्वस्फूर्त रूपमाआन्दोलनमा होमिन थाले, तबतब आन्दोलनको फाइदा लुट्न सबै आइपुगे। केही गलत तत्त्वले हिंसा मिसाउन थाले।

आम नेपालीले जानेकै कुरा हो, जनताको रगत बगाउँदै प्राप्त हुने उप्लब्धीको भरपुर मजा नेता अनि नेतामात्रैले लिने गर्छन्। सहिदहरु थपिँदै गए,यस्तो माहोलको रणनीतिक फाइदा लुट्न बाहिरियाहरु पनि जमेर लागे। अझै पनि आन्दोलन जारी छ।

खुला सीमानाको फाइदा उठाउँदै केही भारतीयहरुले नागरिकता लगे भन्ने गरिन्छ।म एक मधेसको स्वाभिमानी नेपाली भएर प्रश्न गर्छु- के हाम्रो देशको प्रशासन यति धेरै कमजोर छ, को आफ्नो को पराय भनेर चिन्न सक्दैन ?।

सच्चा मधेसी नेपालीको भाग खान आउने जो कोहीलाई तह लगाउन प्रशासन र जनता हातेमालो गर्दै अघि बढ्नैपर्ने हुन्छ। एकजना पहाडी मूलका साथीले भने, “साथी धोती भनेको बाहिरिया पो हो,तिमी त आफ्नै दाजुभाइ हौ, नेपाली मधेसी हौ नि”।

उनले यसो भन्दा मलार्इ सन्तोष मिलेको छ। मलार्इ याद छ उ त्यही पहाडी नेपाली हो, जसले ममाथि हानाथाप हुँदा मेरा लागि लड्न आएको थियो। उ भन्ने गर्थ्यो, “साथी म तिम्रोमिथिलाञ्चल पुग्दा मैथिलीमै बोल्छु है, नेपाली भाषापछि हिन्दी भन्दा मैथिलीमा आफ्नोपन देख्छु,बोल्न सिकाइदेउ है त।” म हुन्छ भन्दै मुन्टोहल्लाउँथे। मेरा आँखाबाट हर्षाश्रु बग्थे, उसलाई थाहै नदिर्इ आँसु पुछ्थें । एक पहाडी मनभित्र यतिबिघ्न आफ्नोपन देख्दा म कल्पिन्थें समुन्न्त र समतामूलक नेपाली समाजलाई।

दुष्टहरुको जात, धर्म, राष्ट्रियता हुँदैन, यस्ता बग्रेल्ती दुष्टहरुको चङ्गुलमा राजनीति फसेको छ। आफू राजनीति खासै नबुझ्ने हुनाले एकजना ठुलै पार्टीका नेतालाई सोधेको थिएँ, “नेता ज्यु राजनीति के हो ?”। नेता ज्युले सुरु गरे, “हेर केटा, पत्रकारले सोधेको भए म रामराज्यवालाकिताबी जवाफ दिन्थें, तँलार्इ म नेपालको ब्यवहारिक राजनीतिको जवाफ दिन्छु, सुरुमा माग राख्ने, पूरा नभए आन्दोलन गर्ने, सहमति गर्ने,सरकारमा जाने लुट मच्चाउने, सरकार फेरिन लाग्दा सहमति तोड्ने, राजको पछाडि झुन्डिएको नीति त मजाक मात्र हो, खासमा जालेझेल र कलियुगको अधार्मिक खेल नै राजनीति हो, यहाँजे देखिन्छ, पर्दा पछाडि कहानी अर्कै हुन्छ। जसरी पनि सत्तामा जाउ, त्यसै हैन ठुला नेताले राजनीतिको अन्तिम लक्ष्य नै सत्ता हो भनेको।” नेता ज्युले सबै ओकले, मानिस दुरदराजसम्म कुनै खतरा नदेखेपछि राज खोल्न डराउन्न अरे। सायदनेताज्यु सही थिए होलान्।

मैले कतै पढेको थिएँ, छिमेकी मुलुकका एकजनादलित नेता भन्थे अरे, “दलितहरुलार्इ शिक्षित र सम्पन्न बनायो भने त, राजनीति नै धरापमा परिहाल्छ नि, के भनेर भोट माग्ने। अहिले पो अधिकार, अनुदान र कोटाको ललीपप देखाएको छु”। नेतृत्व जब बेइमानीको बाटो अपनाउँछ,आफ्नै बाआमामाथि पनि राजनीति गर्छ भन्छन्। हजारौंको बलिदान मूर्खता र घमण्डले माटोमा मिलाएका उदाहरण खोज्न आफ्नै देशको इतिहास पल्टाए पुग्छ। शासन गर्दा एकदिन मर्नु पनि पर्छ भन्ने सत्यलाई बिर्सने अदुर्दर्शी नेताले खेल्ने भाँडाकुटी खेलका शिकार नेपाली जनता भएका छन्।

एक समुदायका जायज मागहरुप्रति अर्को समुदायउदासीन हुनुको पछाडि विकृत राजनीतिकै दोष छ।यसै पनि धरासायी अर्थतन्त्र भूकम्पपछि झन् खोक्रो बन्दै छ। तरार्इ मधेसमा यति ठूलो उथलपुथल भैसक्दा कुनै उल्लेखनीय प्रगति हुन सकेको छैन।यसरी दाजुभाइ फुट्दा गँवारले लुट्न थालेको जुगौ भैसक्यो। नेपाली माटो सुहाउँदो बिचार र दर्शनलाई चटक्कै बिर्सेर बनेको आयातीत फर्मुलायुक्त शासन व्यवस्थाले कति क्रान्ति जन्माउने हो भन्न सकिन्न ।

आज आम पहाडी दाजुभाइ नाकावन्दी र कालोबजारीको सिकार भएका छन् । आम तरार्इ मधेसका दाजुभाइले बन्द हडताल भोगेको महिनौं पुग्दै छ । यसबाट कुन नेपालीलाई फाइदा भो ?शासन गर्ने र शासन गर्न लालायित सबै नेताले जवाफ दिनुपर्नेछ।

म आम नागरिक हु।मैले आफ्नो जिवनयापन सहज ढंगले गर्न पाउनुपर्छ।

विकासको मामलामा सयौं बर्षपछि परेको मेरो देश दशकैपिच्छे क्रान्ति र रक्तपात सहन सक्तैन।मगन्तेनीतिमा चल्ने हाम्रो राजनीतिक संस्कारले देश अगाडि बढ्ला ठान्नु महाभुल हुनेछ। सहीलाई सही र गलतलाई गलत नभन्ने वा भन्न ढीला गर्ने बौद्धिक वर्ग र नागरिक समाज पनि आजकोदुर्दशाका लागि उत्तिकै जिम्मेवार छन्। आफ्नो विवेक बिर्सेर अरुका बिचारको चस्मा लगाउँदै सही बोले सम्भावित फाइदा गुम्छ कि ठान्ने युवा वर्ग र अन्धोभक्ति गर्ने कार्यकर्ताहरुले एकपटक सोच्नैपर्ने हुन्छ, के हामीले कल्पेको नयाँ नेपाल यस्तै हो ?

पृथ्वीनारायण शाह पहाडे हुन् ठान्ने केही उग्र मधेसी दाजुभाइले एकपटक सोच्नुपर्ने हुन्छ, के इतिहास बदल्न सकिन्छ ? जोसले मात्रै बिगत बद्लिन्थ्यो भने, म नेपाललाई युरोपमा पार्ने थिएँ। हामी आज मिलेको खण्डमा भने सायद भविश्य बदल्न सकिएला। सकारात्मक सोच्नु र
सकारात्मकता फैलाउनाले नै शान्तिको बाटो पहिल्याउन सकिन्छ।

युवाहरुले स्वविवेक प्रयोग गरेर एकजुट हुँदै पाइला चालेमा रास्ट्र निर्माणको नौलो सुरुवात हुन सक्नेछ। प्रकृतिले मनमर्जी गर्दा भूकम्प,सुख्खापन, बाढी पहिरो आउँछ। नेतृत्वले मनमर्जी गर्दा हाइटी, सुडान र युगाण्डा जन्मिन्छ।त्योमनमर्जी रोक्न युवा विवेकशील हुनैपर्छ अनि पो पहाड शान्त हुन्छ, मधेस शान्त हुन्छ । नेपाल सुन्दर, शान्त र विशाल हुन्छ ।

नैतिकरुपले पतीत राजनीतिले कहाँसम्म पुर्याउँछ थाहा छैन, तर देशप्रतिको एउटै भावनाले सदैवएकताको माला गाँस्ने छ।भावनात्मक एकताका लागि  संस्कृतिक अभियानको जरुरत छ, के देशका प्रधानमन्त्री हातमा  सम्विधान बोकेर धोती र कुर्ताको पहिरनमा सकार्य र एकताका लागि मधेसी जनता माझ जान तयार छन् ? सुरुवात यहीँबाट हुनेछ।

मनमा नानाथरि कुरा खेलिरहँदा, म टोल्हाउन पुगेंछु, माइ(आमा)को बोलीले झस्कें, “बेटा, कलिया एना उदास बैथल छियाइ, कि सोच रहल्छियै ?”(एक दिनलाई पहाडको नेपालीले  मधेसको नेपाली बनेर गरेको एक कल्पना) अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया