६ फागुन, सुमन भट्टराई  इटहरी। सम्पूर्ण स्थानीय तहका कार्यालयहरु नै ठप्प पारी आन्दोलनमा उत्रिएका स्थानीय निकायका कर्मचारीहरुको आन्दोलन प्रति इटहरी नागरिक समाजले चासो राख्दै त्यसको विरोध जनाएका छन । लगातारको बन्दले नागरिकहरु ज्यादै मारमा परेको भन्दै इटहरी नागरिक समाजले आन्दोलनको विकल्प खोज्न आग्रह समेत गरेको छ ।

दैनिक कार्यहरु गर्न नपाउँदा सेवाग्राही नागरिकहरुमा समस्या बढ्दै गएको भन्दै नागरिक समाज इटहरीले पत्रकार समक्ष विज्ञप्ती जारी गरी आन्दोलनको विकल्प खोज्न स्थानीय तहका कर्मचारीहरुसँग आग्रह गरेको छ । कर्मचारीले माँग राख्न पाउने तर नागरिकहरुको दैनिकी नै कष्टकर बन्ने गरी थालिएको आन्दोलन केवल कर्मचारीको हितमात्र भएको र सर्वसाधारणको पक्षमा भने नभएको तर्फ पनि नागरिक समाजले सचेत गराएको छ ।

नागरिक समाज इटहरीका अध्यक्ष कमलेश शर्मा पौडेलले आन्दोलनरत कर्मचारी र सरकारले सहज वातावरण बनाउन आग्रह गर्दै कर्मचारीलाई आन्दोलनमा जाने परिस्थिति बनाउने सरकारले समेत बदलिँदो परिस्थितिमा तत्काल छलफल र सम्वादमार्फत समस्याको निकाश निकाल्न पनि आग्रह गर्नुभएको छ ।

लगातारको कार्यालय बन्द आन्दोलनले सेवाग्राहीमा परेको मारप्रति नागरिक समाज अनि सर्वसाधारण सेवाग्राहीले पुन कर्मचारी विरुद्ध कार्यालय नै प्रवेश गर्न नदिने जस्तो आन्दोलन थालियो भने त्यसबेला के गर्ने त्यस तर्फ पनि ध्यान जान जरुरी रहेको पनि नागरिक समाजले भनेको छ । आन्दोलनको नाममा कर्मचारीहरु दिनभर कार्यालय बाहिर बसेर घाम ताप्ने अनि सेवा लिनका लागि स्थानीय तहमा पुगेका सेवाग्राहीहरु भने काम नभएर न्याउरो अनुहार बनाएर बाध्य भएर घर फर्कनु पर्ने अवस्थाले कस्तो सन्देश प्रवाह भई रहेको छ त्यो विषयमा कर्मचारी र सरकारले समयमा नै बुझ्न जरुरी रहेको तर्फ पनि नागरिक समाजले ध्यानाकर्षण समेत गराएको थियो ।

तपाईको प्रतिक्रिया