९ फागुन, इटहरी। सुनसरीको इटहरीमा आठ बर्ष अगाडी स्थापना भएको हिमालयन बैङ्कले आफ्नै जग्गामा नव निर्मित भवनको उद्घाटन गरेको छ । तीन दर्जन भन्दा बढि नीजि लगानीका बैङ्क तथा तीस करोड बढि कारोवार भएका पन्ध्रभन्दा बढि बचत तथा ऋण सहकारी संस्था एवम सरकारी स्वामित्वका नेपाल बैङ्क लगायतका बैङ्कहरुसँगै आफुलाई स्थापित गरेको बैङ्कहरु मध्ये आफ्नै भवन भएको यस हिमालयन बैङ्कले आफ्नै भवन मार्फत आज बाट बैङ्किङ्ग कारोवार सञ्चालनमा ल्याएको हो ।

सरकारी स्वामित्वको नेपाल बैङ्क बाहेक अरु बैङ्कहरुले आफ्नो नीजि भवन निर्माण गर्न नसकेको अवस्थामा हिमालयन बैङ्कले २ कट्ठा जमिनको क्षेत्रमा ५ करोडको लगानीमा बैङ्कको आफ्नै अत्याधुनिक भवन निर्माण गरेको जनाएको छ । २ करोड ६० लाख रुपियाँको लागतमा खरिद गरेको जमिनमा बैङ्कले आफ्नो भवन निर्माण गरेको बताएको छ ।

९६ अर्व निक्षेप सङ्कलन गर्न सफल भएको यस हिमालयन बैङ्कले ७९ अर्ब ऋण लगानी गरिसकेको र देशभर ४२ शाखा मार्फत ग्राहकहरुलाई विश्वासनीय सेवा दिँदै आएको यस बैङ्कले ८ सय ५० बढि कर्मचारीलाई रोजगारी दिईसकेको जनाएको छ । चाँडै नै श्रीनगर, सल्यान लम्की लमही बर्दिवास हिले इलाम लगायतका स्थानमा आफ्नो शाखा विस्तारको पनि अन्तिम तयारी भईरहेको बैंकले जानकारी दिएको छ ।

बैङ्कको इटहरी शाखा भवनको उद्घाटन गर्नुहुँदै बैङ्क सञ्चालक समितिका अध्यक्ष मदनबहादुर श्रेष्ठले धेरै सम्भावना र प्रदेश नम्वर १ को केन्द्र विन्दु रहेको इटहरीलाई बैङ्कले पहिलो प्राथमिकता दिँदै आफ्नै नीजि भवन मार्फत बैङ्किङ्ग दिने सफलता आफैमा गौरवको विषय भएको कुरामा जोड दिनुभयो ।

सञ्चालक अध्यक्ष श्रेष्ठले हिमालयन बैङ्क हरदम नेपाली जनताको आर्थिकस्तर माथि उकास्ने विषयमा दत्तचित्तले अघि बढिरहेको र नेपाली जनताको मायाँ प्राप्त गर्नु नै यस बैङ्कको सफलताको पहिलो सूचक भएको र इटहरीबासीको सक्रिय सहयोगकै कारण स्थापना भएको ८ औ बर्षमा बैङ्कले आफ्नै भवन बनाउने सफलता पनि इटहरीबासीकै मायाले सम्भव भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।सञ्चालक अध्यक्ष श्रेष्ठकै अध्यक्षतामा भएको भवन उद्घाटन समारोहमा उद्योग बाणिज्य सङ्घ इटहरीका अध्यक्ष लीलम बस्नेत बैङ्कका इटहरी शाखा प्रवन्धक तुलसी कार्की, सितल कोईराला लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया