Prisedent-Bhandari-11काठमाडौँ, १ मङ्सिर । सूर्यदेवको श्रद्धाभक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्वको अवसरमा आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरीमा पुगी पूजाअर्चना गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले गौरीघाटस्थित छठी मैय्याको मूर्तिमा पूजा गरेपछि त्यस क्षेत्रमा पूजा र दीप प्रज्वलन शुभारम्भ भएको थियो । त्यसपछि गौरीघाट परिसरमा अवस्थित सो मूर्तिमा दर्शन तथा पूजा गर्ने भक्तालुको घुइँचो लागेको थियो । राष्ट्रपति भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकनसमेत गर्नुभयो । राष्ट्रपतिलाई सो क्षेत्रमा स्थानीयले पुष्पगुच्छाले स्वागत गर्नुका साथै बटुकहरुले स्वस्तिवाचन गरेका थिए ।छठ पर्वको तयारीका लागि छठ पूजा समितिले गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदीमा सरसफाइका साथै ध्वजापताका र झल्लार बत्तीले दुलहीझँै सजाइएको छ । छठपर्वको मुख्य दिन आज भक्तालुले पूजा सामग्री, फलफूल र मिठाइका साथ बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिई पूजा सुरु गरेका छन् ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत गर्ने गर्छन् । विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठपर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा पनि मनाउन थालिएको हो ।

 

तपाईको प्रतिक्रिया