फागुन १२ इनरुवा/स्वास्थ्य सेवा ऐन कार्यान्वयनको माग गर्दै आन्दोलनरत स्वास्थ्यकर्मीहरुको पूर्वाञ्चल क्षेत्रीय भेलाले यथास्थितीमा कुनैपनि राष्ट्रिय कार्यक्रममा सहभागिता नजाउने निर्णय गरेको छ ।सुनसरीको इनरुवामा आज सम्पन्न संयुक्त ट्रेड युनियन पुर्वाञ्चल क्षेत्रिय संघर्ष समितिको बैठकले माग पुरा नभएसम्म कुनैपनि राष्ट्रिय कार्यक्रममा स्वास्थ्यकर्मीहरुको सहभागिता नरहने निर्णय गरेको हो ।

पूर्वका १४ जिल्लाबाट भेलामा सहभागि ट्रेड युनियन आवद्ध स्वास्थ्यकर्मीहरुले यथास्थिती रहीरहे फागुन २१ र २२ गतेको राष्ट्रिय पोलियो खोप अभियानका साथै हात्तिपाइले कार्यक्रम प्रभावित पार्ने चेतावनी समेत दिएका छन् ।पूर्वाञ्चल क्षेत्रिय संघर्ष समितिका सह–संयोजक रमेश कार्कीले आफुहरुका माग सम्बोधन गर्ने तर्फ सरकार उदासिन रहेको भन्दै एकसाता भित्र सम्पूर्ण पाँच सुत्रिय माग पुरा नगरिए पूर्वभरका स्वास्थ्यसंस्था पूर्ण रुपमा ठप्प पार्ने चेतावनी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयमा तालाबन्दी गरी धर्नामा बसेका स्वास्थ्यकर्मीहरुले तत्कालकालागि भने आन्दोलनका कार्यक्रमलाई केही खुकुलो पार्ने सहमति गरेको जिल्ला संघर्ष समिति सुनसरीका अध्यक्ष महेश पोखरेलले जानकारी दिए ।स्थानीयतहमा संचालन हुने नियमित खोप र अत्यावश्यक सेवा भोलीबाट उपलब्ध गराइने पूर्वाञ्चल संयुक्त ट्रेड युनियन संघर्ष समितिले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीमा तालाबन्दी जारी छ । तालाबन्दीका कारण कार्यालयको कामकाज ठप्प बन्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा समेत बाधा उत्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया