अमर काफ्ले, इनरुवा,१३ फागुन / सुनसरीका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । मंसिर ८ गतेबाट सुनसरीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका लोकनाथ पौड्यालको बिहीवार अवेर सरुवा भएको छ । पौड्यालको स्थानमा गृहले प्रजिअका रुपमा गोपाल पराजुलीलाई सुनसरी पठाएको छ । पराजुली केहि महिनाअघि सुनसरीमा सहायक प्रजिअ रही बढुवामा परेका व्यक्ति हुन् ।

गृह मन्त्रालयले बिहीवार दिउँसोनै ३५ जिल्लाका प्रजिअ तथा सहायक प्रजिअहरुको हेरफेर गरेतापनि सुनसरीका प्रजिअ पौड्याल भने आकस्मिक सरुवामा परेका हुन् । जिल्ला प्रशासन कार्यालय सुनसरी स्रोतका अनुसार प्रजिअ पौड्याल सरुवाको पत्र गृहबाट वेलुकी अवेर गरी प्राप्त भएको थियो । गृहले पौड्याललाई क्षेत्रीय प्रशासन कार्यालय धनकुटामा सह– क्षेत्रिय प्रशासकको जिम्मेवारी सुम्पेको छ ।

पहिलो पटकको सरुवा सूचिमा नपरेका प्रजिअ एक्कासी सरुवाको पत्र पाएपछि शुक्रबार विहानै राजधानी हानिएका छन् । सरुवा थमौतिका साथै असन्तुष्टि पोख्न प्रजिअ पौड्याल काठमाडौं गएको हुनसक्ने स्रोतको अनुमान छ । सुनसरीमा बिहीवारै स्थानीय विकास अधिकारी समेत नयाँ आएका थिए । रामप्रसाद वाग्लेले सिडिओ पौड्यालसँगको असन्तुष्टिका कारण जिल्ला बस्न नसक्ने भन्दै मन्त्रालयबाट सरुवा मिलाएपछि रिक्त स्थानमा नयाँ एलडिओ तुलषीबहादुर श्रेष्ठले कार्यालय पुगेर जिम्मेवारी सम्हालेका हुन् ।

स्रोतले गृहले पहिलो पटक जारी गरेको सरुवा सूचिमा नपरेका प्रजिअ आकस्मिक तवरले सरुवामा पर्नुलाई प्रजिअको कार्यशैलीप्रति असन्तुष्ट पक्ष हावी भएको बताएको छ । केही जिम्मेवार दलका नेता तथा माथिल्लो ओहदाकहाँ प्रत्यक्ष पहुँच भएकाहरुको समूहले प्रजिअको विषयमा संचारमाध्यममा आएका समाचार र कार्यालय प्रमुख लगायत कर्मचारीहरुको असन्तुष्टिको विषयलाई लिएर सरुवा गराएको स्रोतको दावी छ ।
सरकारले निर्वाचनलाईमा ध्यानमा राख्दै गृह मन्त्रालय मातहतका प्रजिअ र सहायक प्रजिअको सरुवा गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया