१६ फागुन,  दिलिप साह राजविराज । भारतको जयपुर शहरको नक्सामा अवस्थित जिल्लाको सदरमुकाम राजविराज नगरभित्र युरेनरको व्यवस्था नहुँदा सर्वसाधारण खुल्ला स्थानमा पिसाब फेर्न बाध्य बनेका छन् । जिल्लाका विभिन्न ग्रामिण भेगबाट विभिन्न प्रकारका सरकारी अड्डाको कामदेखि मेला भर्न आउने सर्वसाधरणहरु नगरका विभिन्न शाखा सडक देखि गल्लीहरुमा खुल्ला पिसाब फेर्ने गरेका छन् ।

जिल्ला बाहिरबाट आउँने सर्वसाधारण मात्र नभई नगर भित्रैका विभिन्न व्यवस्था गरेर वस्ने देखि लिएर काम विशेषले घण्टौं बजारमा निस्कनु परेको नगरबासीहरु समेत यसरी खुल्ला स्थानमा पिसाब फेर्ने गरेको पाईन्छ । सुन्दर नगरीको कल्पना गरी निर्माण गरिएको राजविराज नगरका अधिकांश शाखा सडकहरुबाट आवत जावत गर्नेहरुलाई नै पिसाबको दुर्गन्धले आउ जाउँ गर्न समेत अप्ठेरो पर्न थालेको नगरबासी स्वयं गुनासो गर्छन् ।

थप एक सार्वजनिक शौचालय सहित नगर भित्र चार वटा सार्वजनिक शौचालयहरु संचालनमा रहेतापनि उक्त शौचालयहरुमा पिसाब गरे वापत सर्वसाधारणबाट मनपरी रकम उठाईने गरेको हुँदा समेत नगर भित्रका शाखा सडक तथा गल्लीहरु खुल्ला पिसाबका थप बढी शिकार बन्न गएको नगरबासीहरु बताउँछन् ।

शाखा सडकहरु तथा गल्लीहरुमा खुल्ला पिसाब फेर्नेहरुको लर्काे लाग्ने गर्दा आऊ जाऊँ गर्न कठिनाई हुने गरेको राजविराज–४ का मनोज साह बताउँछन् । साह भन्छन् ‘कतिपय गल्लीहरुबाट त नाक थुनेर समेत हिडने अवस्था रहेको छैन ।’ पिसाब फेर्न नगरका विभिन्न गल्लीहरुमा युरेनरको व्यवस्था नगरपालिका कार्यालयले मिलाए समस्या समाधान हुने साहको दावी रहेको छ । खुल्ला पिसाब नियन्त्रण गर्न एक दशक अघि प्रयास नभएको होईन ।

तत्कालिन नगरको मेयर जगरनाथ दासले हटियाका विभिन्न गल्लीहरुमा पिसाब फेर्न युरेनर निर्माण गरेको बताउँछन् राजविराज नगरपालिका–७ वस्ने बेचन लाल देव । ‘नगरभित्रका बासिन्दाहरु त आ–आफनो घरको चर्पीमा गई दिशा पिसाब गर्छन्, तर नगरबाहिरबाट आउने मानिसहरु कहाँ जान्छन् ?’ देव प्रतिप्रश्न गर्छन् । गल्लीमा निर्माण गरिएको युरेनरहरुको नगरपालिकाले संरक्षण गर्न नसक्दा उक्त युरेनरहरु जिर्ण बन्दै नष्ट भई सकेको छ । सो सम्बन्धमा राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादव सापकोटाले नगरभित्र विगतमा युरेनर निर्माण गरिएको आफुलाई थाहा नभएको बताए । उनले युरेनर निर्माण सम्बन्धमा छलफल गरी पहल गर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया