१६ फागुन, राजविराज दिलिप कुमार साह। आँप किन्न व्यापारीहरु बगैचा धाउने गरेको सबैलाई थहा नै छ तर, आँपको मञ्जर (मुजुरा) किन्न व्यापारीहरु आँपको बगैचा धाउने गरेको सुन्दा जोसुकैलाई आश्चर्य लाग्न सकिन्छ । तर, यही नै वास्तविकता हो । अहिले सप्तरी सहित तराईका जिल्लाहरुमा आँपको मञ्जर खरिद बिक्री व्यापक रुपमा भइरहेको छ ।

फलफूलको राजा मानिने आँपको बोटमा लागेको मञ्जर अनुसार व्यापारीहरुले दाम (मूल्य) लगाउने गरेको छ । व्यापारीहरुले १÷२ वटा सिंगल आँपको मञ्जर भन्दा धेरै रुखहरु भएको बैगाचामा मञ्जर किन्ने गरेको छ । आँपको राजधानीको रुपमा परिचित सप्तरीमा बगैचामा भएको आँपको बोट र त्यसमा लागेको मञ्जरलाई आंकलन गरेर भविष्यमा दिन सकिने आँप फलको आधारमा मोलतोल गरेर मौखिक रुपमा मञ्जर किन्ने गरेका छन । सप्तरी सहित तराईका सिरहा, धनुषा, सुनसरी, सर्लाही, बारा, पर्सा, रौतहट लगायतका जिल्लाहरुमा मञ्जर खरिदबिक्री हुने गरेको छ ।

गत वर्षको तुलनामा यस वर्ष आँपमा एकदमै न्यून मात्रामा मञ्जर लागेको कारण व्यापारीहरुलाई आँपमा लागेको मञ्जरको बोट ठूलो मात्रामा पाउन मुस्किल भइरहेको सप्तरी जिल्लाको मलेठ गाविस(७ बस्ने व्यापारी मो. मुवारकले जानकारी दिनुभयो । उहाँले गत वर्ष २३ वटा आँपको बोट भएको बगैचाको मञ्जर रु. ८० हजारमा खरिद गर्नु भएको थियो । यस वर्ष मञ्जर कम लागेकोले महँगोमा किन्नु पर्ने बाध्यता रहेको भन्दै उहाँले अहिलेदेखि किटनासक औषधी छरेर स्याहार गरेमा मात्र राम्रो फल दिन्छ । त्यसैले मैले अहिले नै मन्जर खरिद गरिरहेको छु ।
आँपमा टिकुला लागेपछि मञ्जरको भन्दा बढी मूल्य तिर्नु परेको हुँदा अहिले मञ्जर सस्तोमा किन्न पाइने गरेको बताउँदै व्यापारीहरुले भन्नुभयो(हामीहरुले मञ्जर किनिसकेपछि फल सपार्ने काम हाम्रो जिम्मेबारी हुन्छ, नत्र हामी घाटामा जान्छौ ।

बगैचा धनीले समयमा राम्ररी हेरचाह तथा स्याहार गर्न नसक्दा मञ्जरमा किरा लाग्ने, झर्ने गरेको कारण आँप न्यून मात्रामा फल्ने गर्दछ । सोचे अनुसारको आम्दनी नहुने हुँदा अरुलाई बेच्ने गरेको बताएको छ । मञ्जर खरिद गरिसकेपछि मञ्जर अनुसार आँप फल सप्रियो भने मनग्य आम्दानी हुने विश्वास रहेको बताउनुभयो । मञ्जर लागेको ठूल–ठूला बगैचाको रेखदेख हेरचाह आफैले गर्न नसकिने र मजदुर पनि नपाइने गरेकोले फल भगवान भरोसामा साप्रिने गरेको हुँदा मञ्जर नै बेच्ने गरेको कृषक देवनारायण यादवले बताउनुभयो । तराईका कृषकहरुलाई आँप सपार्न नसकिने यो साझा समस्या र अवस्था रहेको छ । आँप व्यापारीहरुले यसरी मञ्जर खरिद गरिसकेपछि दिनरात बगैचामा समय बिताएर फल कसरी सपार्ने र त्यसबाट अत्यधिक आम्दानी कसरी गर्ने भनेमा मस्तिष्कलाई कुदाइरहने गरिन्छ ।

आँप व्यापरीहरुले खरिद गरेको बगैचामा फूसको अस्थायी टहरा निर्माण गरेर त्यही खाना पकाउने, खाने र सुत्ने गरिन्छ । आँप नटिपुनजेल्ल सम्म उनीहरुको भोजन आवास बगैचामा नै हुन्छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीको तथ्यांक अनुसार सप्तरीमा कूल आँप बोटको ६० प्रतिशत मालदह रहेको छ भने कलकतिया २० प्रतिशत, बम्बई १५ प्रतिशत र अन्य जातका ५ प्रतिशत बोट रहेको छ । यस जिल्लाको प्रत्येक गाविसमा आँपको बोट अत्यधिक मात्रामा रहेपनि संख्यात्मक र गुणात्मक रुपले उत्तरी भाँवर क्षेत्रको धरमपुर, रुपनगर, घोघनपुर, जगतपुर, कंचनपुर, तेरहौता, प्रसबनी, बकधुवा, कुशहा, कल्याणपुर, कुशहा, कडरबोना, कठौना गाविसहरु आँप खेतीका लागि प्रख्यात छन् ।

तपाईको प्रतिक्रिया