१७ फागुन, सुमन भट्टराई  इटहरी। सुनसरी जिल्लाको इटहरी मुख्य बजार क्षेत्रमा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गतको टेङ्ग्रा खोलाको पक्की पुल साँघुरोसँगै भत्कने जोखिमपूर्ण अवस्थामा पुगेको छ । सवारी सञ्चालनमा देखिएको अवरोधमा कमि ल्याउन चार महिनाअघि सिलान्यास गरेको बैकल्पिक पैदल पक्की पुल निर्माण हुन सकेको छैन ।

सडक विभागले गत कार्तिक महिनामा नै निर्माण सिलान्यास गरी आगामी बैशाखभित्रमा बनाई सक्ने गरी ठेक्का समेत दिईएको थियो । हालको पुलको दायाँ बायाँ ६–६ फुट चौडा भएको दुई वटा पक्की पुल गलत नक्शाङ्कनका कारणले निर्माण हुन नसकेको हो । घना शहरीकरण भएको स्थानमा रहेको टेङ्ग्रामा सडक विभागका प्राविधिकहरुले तयार पारेको नक्शाका आधारमा बैकल्पिक पुल बनाउनँदा दायाँबायाँका घरहरु नै भत्कने खतरा बढेपछि पुल निर्माण हुन नसकेको बताइएको छ ।

साँसद रेवतीरमण भण्डारीले गत कार्तिक महिनामा सिलान्यास गर्नु भएको उक्त पुल निर्माणका लागि तयार नक्शा गलत भएको र त्यो नक्शा अनुसार पुल बनाउन नसकिने देखिएपछि नक्शा परिवर्तनका लागि सडक विभागसँग अनुरोध गर्दा त्यो समेत सम्भव नभएकाले पुल निर्माण कार्य रोकिएको ठेक्का पाउनु भएका निर्माण ब्यवसायी कृष्ण खड्काले जानकारी दिनुभयो ।

एकातिर पुलको नक्शा गलत हुनु अनि अहिले सडक विभागले पुल निर्माण क्षेत्रको दायाँबाया रहेका खानेपानीको पाईप र नेपाल विद्युत प्राधिकरणले विद्युत पोल नसारेका कारण काम गर्न अप्ठ्यारो परेको बताईएको छ । यही बैशाखभित्रमा निर्माण गुिरसक्ने गरी ७५ लाख रुपियाँको लागतमा निर्माण गर्ने गरी ठेक्का लागेको उक्त पुल नबन्दा सर्वसाधारण पैदल यात्रीहरुले हिड्डुलमा कठिनाई भोग्नु परिरहेको बताएका छन् ।

तपाईको प्रतिक्रिया