karentलहान, २ मङ्सिर / सिरहाको दक्षिणी सीमावर्ती माडर गाउँसँग जोडिएको भारतीय जयनगर बजारमा किनमेल गरेर फर्किन लागेको समयमा मङ्गलबार अपराह्न बिजुलीको तार खसेर करेन्ट लाग्दा दुई नेपालीसहित ११ जनाको मृत्यु भएको छ । जिल्लाको दक्षिणी सीमावर्ती लगडी गदियानी गाविस–२ का करिब २५ वर्षीय सरोजकुमार यादवको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडरका प्रहरी नायब निरीक्षक शङ्कर चौधरीले बताउनुभयो ।

यादवको खल्तीमा रहेको नेपाली रुपैयाँ र कागजातको आधारमा नेपाली रहेको भारतीय जयनगर प्रहरीले समेत पुष्टि गरेको प्रनानि चौधरीले उल्लेख गर्नुभयो । प्रहरीका अनुसार करेन्ट लागेर यादव चढेको मोटरसाइकलसमेत पूर्णरुपले जलेको थियो । एघार हजार भोल्टको विद्युत् प्रसारण लाइनको तार झरेर करेन्ट लाग्दा अर्का एक जनाको मृत्यु भएको बताइए पनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । उनी सिरहाको गोलबजार क्षेत्रको हुनसक्ने आशङ्का गरिएको भएपनि पुष्टि हुन नसकेको माडर प्रहरीले जनाएको छ ।

नेपालमा मधेसी दलको आन्दोलनको कारणले लामो समयदेखि स्थानीय बजार बन्द हुँदा दैनिक उपभोग्य सामग्री महँगो भएकाले किनमेलका लागि जयनगर पुगेकामध्ये दुई जनाले ज्यान गुमाएका हुन् । किनमेल गरेर घर फर्किने तर्खर गरिरहेका बेला तार झरेपछि लागेको आगोमा जलेर १० जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा अर्को मोटरसाइकल समेत जलेको छ । भारतीय प्रहरीका अनुसार विद्युतको तार खसेर भारतीय सीमावर्ती गाउँ कोरहियाका चारजना र बेलहीका चार जनाको मृत्यु भएको थियो ।पुर्वेलिन्युजबाट

 

तपाईको प्रतिक्रिया