२२ फागुन, दिलिप  साह राजविराज । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राजविराजमा गर्न लागेको सभाको अवरोध गर्ने मधेसी मोर्चाको चेतावनीपछि स्थान परिवर्तन गरेको छ ।मोर्चाका कार्यकर्ताले राजविराजमा एमाले अध्यक्ष केपी ओली सहभागी हुने कार्यक्रम विथोल्ने चेतावनी दिएपछि एमालेले कार्यक्रमको स्थान परिवर्तन गरेको हो ।

राजरंगशालामा तयारी गरिएको कार्यक्रम तीन किलोमिटर उत्तर मलेठ गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा सार्ने तयारी गरिएको एमाले सप्तरीका अध्यक्ष गोविन्द न्यौपानेले बताउनुभयो । एमालेले सोमबार फागुन २३ गते राजविराजस्थित राजरंगशालामा कार्यक्रम गर्ने तयारी गरेको थियो । औद्योगिक क्षेत्रमा कार्यक्रम गर्ने एमालेको तयारीपछि मोर्चाका कार्यकर्ताहरूको जुलुस आइतबार बिहानैदेखि त्यस क्षेत्रलाई घेराउ गरेको छ । मुलगेटमा टायर बाल्दै मोर्चा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । कालो झण्डा, मोटरसाइकल ¥यालीसहित मोर्चा कार्यकर्ताहरु प्रदर्शनमा छन् ।

एमाले र मोर्चाको आ–आफनै अडानका कारण हुन सक्ने सम्भावित घटना रोक्न राजविराजसहित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रका चोक र गल्लीहरुमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला प्रहरी मातहतका प्रहरी कार्यालयका इञ्चार्जहरु र सवारी साधन अहिले राजविराज ल्याइएको छ । क्षेत्रीय प्रहरी कार्यालय र छिमेकी जिल्लाहरुवाट थप प्रहरी बल मगाइएको छ । ‘स्थानीयस्तरमा सुरक्षा खतरा भएकाहरूलाई सुरक्षा उपलब्ध गराएका छौं’ जिल्ला प्रहरी प्रवक्ता डिएसपी दानबहादुर कार्कीले भने, ‘सुरक्षा थ्रेट भएका नेताहरुको घर भएको क्षेत्रमा पनि प्रहरीको उपस्थिति बढाएका छौ ।’

नेपाल प्रहरीका डिआईजी रमेश भट्टराई र सशस्त्रका डिआईजी जानकी भट्टराई राजविराज आएर सुरक्षा अवस्थाको जानकरी लिनुका साथै सम्भावित घटनालाई रोक्न सुरक्षा रणनीति बनाउन स्थानीयस्तरमा निर्देशन दिएका थिए ।

तपाईको प्रतिक्रिया