२३ फागुन, दिलिप साह राजविराज। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको चेतावनी पछि पनि नेकपा एमालेले सप्तरीमा शक्ति प्रदर्शन गरेर जनसभा सम्पन्न गरेको छ । मेची–महाकाली अभियान अन्तर्गत राजविराजको गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा एमालेले सभा सम्पन्न गरेको छ । सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले २-४ जनाले कालोझण्डा देखाउँदैमा एमालेको अभियान नरोकिने बताए ।
एमालेको कार्यक्रम विथोल्ने भन्दै मोर्चाका कार्यकर्ताले सोमबार विहानैदेखि विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए । ठूलो संख्यामा परिचालन गरिएको सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई रोकेको थियो ।

प्रदर्शनकारीलाई रोक्न प्रहरी सडक छेउको खेतसम्मै पुगेको थियो र, त्यस क्रममा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच पटक–पटक झडप समेत भएको छ । बाहिर तनावपूर्ण अवस्था रहेपनि एमालेले औद्योगिक क्षेत्रभित्र आफ्नो कार्यक्रम सम्पन्न गरेको छ । सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमाले मधेसको रैथाने पार्टी भएको बताए । २-४ जनाले भन्दैमा एमाले मधेस विरोधी पार्टी नहुने बताउँदै ओलीले भने एमाले मधेस पस्यो, अब अड्डा जमाएर बस्छौं ।

तराई मधेसमा विकासका दर्जनौं योजनाहरु ल्याएको कारण पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वको अघिल्लो सरकारको विरोध भएको बताए । कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेसको धर्तीपुत्र आफू भएको बताए । मैथिली भाषामा सम्बोधन गरेका उनले नजिकै रहेका एमाले अध्यक्ष ओलीलाई देखाउँदै भने, म भन्दा पुरानो धर्तीपुत्र केपी ओली हुन् । एमालेको कार्यक्रम सकिएपनि प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताको झडप भने ठाउँ–ठाउँमा भइरहेको छ । झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले दर्जनौं अश्रुग्यासका साथै हवाई फायर गरेको छ र मोटरसाइकलमा आगजनी पनि भएको छ ।

तपाईको प्रतिक्रिया