२३ फागुन, दिलिप साह राजविराज । नेकपा एमालेको मेची–महाकाली अभियानको विरोध गर्ने क्रममा सप्तरीको राजविराजमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी बीचको झड्पमा प्रहरीको गोली लागेर मोर्चाका ४ जना कार्यकर्ताको मृत्यु भएको छ । राष्ट्रिय मधेश समाजवादी पार्टीका सचिव गजेन्द्र मण्डलका अनुसार सप्तरीको मलेठमा पान पसल गर्दै आएका रञ्जन मेहताको मृत्यु भएको छ भने घाइते तिन जनालाई उपचारका लागि धरान लिएर जाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा मलेठ २ का दिगम्बर यादव तथा मलेठ-४ का पिताम्बर मण्डल, आनन्द शाह रहेको छन। मृतकमध्ये एक जनाको पेटमा र एकजनाको छातीमा गोली लागेको थियो । घाइते मध्ये छ जनालाई धरान लैजाने क्रममा दुई जनाको र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुई जनालाई राजविराज फिर्ता पठाएर बाँकीलाई धरान पुर्याएको मोर्चाका एक नेताले बताए ।

यसअघि सप्तरीका प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले आफूलाई एक जनाको मृत्यु भएको खबर आएको र विस्तृतमा बुझ्दै गरेको बताएका थिए भने अहिले उनको मोबाइल स्वीच अफ रहेको छ । मोर्चातर्फ ११ जना घाइते रहेकोमा तीन जनाको अवस्था गम्भिर रहेको र घाइतेहरुको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको बताइएको छ । यता प्रहरीले आफ्नो तर्फ २० जना घाइते भएको बताएको छ ।

तपाईको प्रतिक्रिया