२३ फागनु, दिलिप साह राजविराज । सप्तरी सदरमुकाम राजविराजमा भएको झडपका क्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गर्न थालेपछि गोली चलाउनु परेको प्रहरीले बताएको छ ।

कार्यक्रमको अन्तिमतिर मोर्चाका कार्यकर्ताले गुलेली र पेट्रोल बमले समेत प्रहार गर्न थालेपछि सुरक्षाकर्मीबाट गोली चलेको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डीआइजी रमेश भट्टराईले बताए । डीआईजी भट्टराईले भने–मोर्चाका कार्यकर्तालाई थुप्रै पटक सम्झायौं तर, कार्यक्रम स्थलको करिब ३ सय मिटर नजिक पुगेपछि उनीहरुले प्रहरीमाथि र एमालेको कार्यक्रम स्थलमा गुलेली र पेट्रोल बमले प्रहार गर्न थालेपछि गोली चलाउनु परेको बताए ।

सुरक्षा निकायले संयमता अपनाउँदा समेत मोर्चाका कार्यकर्ता नियन्त्रण बाहिर जान थालेपछि सो घटना भएको डीआईजी भट्टराईले बताए ।
मोर्चाका कार्यकर्ताको आक्रमणबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरेर ३० जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जानकारी दिए ।
झडपका क्रममा मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीको एक थान सञ्चार सेट समेत खोसेको बताए । सवारी साधन जलाउने, प्रहरीमाथि पेट्रोल बम प्रहार गरेपछि सुरक्षाकर्मीले सयौं राउण्ड अश्रु ग्याँस र हवाई फायर गरेको थियो । प्रहरीका अनुसार एमालेको कार्यक्रमको विरोधमा करिब दुई हजारको संख्यामा मोर्चाका कार्यकर्ता उत्रिएका थिए ।

तपाईको प्रतिक्रिया