नेपाली संगीतमा प्रेमध्वज प्रधान चिनाइरहनुपर्ने नाम होइन । उनले गाएका गीत एकसेएक हिट छन् । ८१ वर्ष पुगिसकेका प्रधान अहिले पनि दैनिक दुई घन्टा रियाज गर्छन् । आजको नयाँ पत्रिकामा प्रकाशित फिचर :

रत्नपार्क कटेर बागबजार प्रवेश गर्दा पचास कदमअघि सेतो घरको दोस्रो तल्लाबाट गायक प्रेमध्वज प्रधानले हात हल्लाए । हामी भेट्ने ठाउँ यहाँ नै तय भएको थियो । नजिकै मूल सडकमा सवारीसाधनको चर्को हल्ला छिचोल्दै देब्रे मोडिएको गल्ली छेउको सेतो घरको गेटभित्र प्रवेश गर्दैगर्दा नै वातावरण शान्त थियो ।

८१ वर्षीय प्रधानले सहर्ष प्रश्नहरूको प्रतीक्षा गरे । अनि पहिलो प्रश्नपछि बाल्यकाल सम्झिए, ‘म सानैदेखि गाउन रुचि राख्थेँ । मेरी आमाको प्रेरणाले म गायक भएको हुँ ।’ टाउकोमा पानी जमेपछि १० महिनाअघि शल्यक्रिया गरेका गायक प्रधान आजभोलि घरमै आराम गरिरहेका छन् । पछिल्लो समय सार्वजनिक कार्यक्रममा कमै मात्र देखिने प्रधानले कुरा अगाडि बढाउँदै भने, ‘विसं। १९९३ सालमा सिन्धुपाल्चोकको चौतारामा मेरो जन्म भयो । मेरा जिजुबादेखि नै सांगीतिक क्षेत्रलाई सोखका रूपमा लिने परिवार थियो ।’

आजभोलि उनी बिहान ५ बजे उठिसक्छन् । भन्छन्, ‘घरभित्रै तीनवटा कोठा मिलाएर करिब ६ हजार पाइलाजति मर्निङवाक गर्छु । त्यसपछि २० मिनेटजति योगा गरेर एक घन्टा रियाज गर्छु ।’ उनले बिहान मात्र होइन, प्रत्येक साँझ थप एक घन्टा रियाज गर्दा रहेछन् । अझै रियाज किन नि भन्ने प्रश्नमा उनले अनौठो मान्दै भने, ‘अझै गीत रेकर्ड गराइरहेको छु, अझै गीत गाउने रहर छ । गाएर नै जीवन यहाँसम्म आइपुग्यो, सकेसम्म त गर्नैपर्यो‍ नि ।’

कुनै समय गीत रेकर्ड गर्नकै लागि दिल्लीदेखि बम्बई पुगेका गायक प्रधान आजभोलि घरभित्रै बसेर फेसबुक र इन्टरनेटको माध्यमबाट विश्वभरका गीत–संगीत सुन्ने र घटनाक्रमसँग अभ्यस्त हुने गर्छन् । उनी भन्छन्, ‘शारीरिक रूपमा कमजोर बन्दै गए पनि गीतको धुन बज्न थालेपछि गाउन मन लाग्छ । भारतीय टिभी च्यानलमार्फत रियालिटी सो हेर्छु । कडा मिहिनेत गर्ने भाइबहिनी देख्दा दंग पर्छु ।’ कुराकानीकै क्रममा ‘एकैछिन है’ भन्दै उठे प्रधान, अर्को कोठामा गए र डिजिटल क्यासेट ल्याए । ‘छोराले ल्याइदिएको, मैले भेटेजति मेरा गीतहरू यसमा छन्,’ प्रधानले भने । अनि सुनाए, उनकै गीतहरू– ‘घुम्तीमा नआऊ है’, ‘तिमीलाई अचेल कहाँ भेटूँ’, ‘देउरालीमा बतास चल्यो’, ‘गोरेटो त्यो गाउँको’, ‘पर लैजाऊ फूलहरू’ ।

प्रधानकी आमा सानी छँदा राजा त्रिभुवनको पालामा नारायणहिटीमा बसेर गीत–संगीतमा लागेकी थिइन् । त्यसैको प्रभावले पछि आफ्नो छोरो प्रेमध्वजलाई आमाले संगीतप्रति प्रेरित गरिन् । सानैदेखि आमाले गीत गाएको सुन्दै गर्दा उनको मन पनि उत्साहित हुन्थ्यो । उनले विष्णु निकेतनमा पढाइ सुरुवात गरे । त्यसवेला उनी चिटिक्क परेका र सबैका प्रिय बालक थिए । विष्णु निकेतन स्कुलका प्रिन्सिपल प्रेमबहादुर श्रेष्ठले त्यस वेला चिटिक्क परेका बालक गणेशध्वज प्रधानको नाम आफ्नै नामबाट ‘प्रेम’ झिकेर प्रेमध्वज राखिदिए । त्यस वेलादेखि गायक प्रधानको नाम गणेशध्वजबाट प्रेमध्वज भएको हो । त्यो क्षण सम्झिँदै उनी भन्छन्, ‘आफ्नो नामबाट प्रेम झिकेर प्रिन्सिपलले गणेशध्वजबाट प्रेमध्वज बनाइदिनुभयो । त्यसपछि त प्रेमध्वजमै प्रेम बस्यो ।’

प्रधानले ०१० सालमा एलएलसी दिए । त्यो समयमा उनको लत सांगीतिक क्षेत्रमा बसिसकेकाले पनि होला, उनी त्यस वेलाको एलएलसीमा फेल भए । दुई वर्ष पढाइ रोकेर दिल्ली–बम्बई घुम्न निस्किएका उनी पढ्नुपर्ने अनुभूति भएपछि फेरि काठमाडांै फर्किए । ‘साथीभाइको संगतले दिल्ली–बम्बईतिर घुम्न पुगे पनि पढ्नुपर्ने रहेछ भन्ने लागेर फर्किएँ ।’ उनले विसं। २०१३ सालमा पद्मोदयमा फेरि भर्ना भएर सेकेन्ड डिभिजनमा एलएलसी पास गरे ।

इन्जिनियर बनाउने बुबाको इच्छाअनुसार उनले केही समय आइएस्सी त पढे, तर त्यसलाई निरन्तरता दिन सकेनन् । आमा र बुबा छुट्टिएकाले उनले जागिर गरेर आमालाई पनि पाल्नैपर्ने थियो । आमा पुतली बनाएर बेच्थिन् भने प्रेमध्वज रेडियो नेपालमा गीत गाएर केही पैसा कमाउँथे । त्यतिखेरको दैनिकी सम्झिँदै गायक प्रधान भन्छन्, ‘अहिलेजस्तो सिंहदरबारको छेउछाउमा तारबार र पर्खाल थिएन, लखरलखर रेडियो नेपाल गइन्थ्यो । अग्रज कलाकारहरूसँग चिनजान हुँदै गएपछि आफूले पनि गाउन थालियो ।’

विसं। २००९ सालमा उनले रेडियो नेपालबाट क श्रेणीमा स्वरपरीक्षा पास गरेका हुन् । क श्रेणीमा पास गरेपछि उनले प्रत्येक महिना २ वटाजति गीत गाउँथे । त्यस वेला दुईवटा गीत गाएबापत उनले २० रुपैयाँ पाउँथे र १९ रुपैयाँ आमालाई दिएर एक रुपैयाँ आफैँ राख्थे । त्यही एक रुपैयाँ पनि खर्च गर्ने ठाउँ हुन्नथ्यो । त्यस वेला होटेल केही थिएन । उनी भन्छन्, ‘त्यस वेला होटेल, पसल केही थिएन । काठमाडौमा चिया भनेर ०१३ सालपछि बिक्री गर्न थालिएको हो । त्यसअघि भोटेचिया भनेर नुन र नौनी घिउको टुक्रा राखेर खान्थ्यौँ ।’ गीत गाएर रेडियो नेपालबाट आउने क्रममा एक दिन सुन्धाराछेउमा चिया बिक्री हुन्छ रे भन्ने सुनेको प्रसंग कोट्याउँदै गायक प्रधान भन्छन्, ‘रेडियो नेपालबाट गीत गाएर पाएको पैसा खर्च गर्नै ठाउँ नहुने । एक दिन फर्किने क्रममा धरहरानिर ए यहाँ त चिया छ रे, गुलियो हुन्छ रे भन्ने हल्ला चल्यो । त्यसपछि कस्तो हुँदो रहेछ भनेर खान गयौँ । त्यस वेला एक कप चियाको १० पैसा तिर्नुपथ्र्यो ।’

उनले रेडियो नेपालमा धेरै गीत गाए । जति गाइन्थ्यो, सबै लाइभ हुन्थ्यो । आफूले गाएको गीत आफैँले सुन्न मिल्दैनथ्यो । ०१४ सालमा एउटा रेकर्डिङ मिक्सचर रेडियो नेपालले डोनेसन पाएको थियो । सोही क्रममा नातिकाजीको संगीतमा तारादेवी र गायक प्रेमध्वजको स्वरमा कवि भूपि शेरचनको शब्दमा रहेको ‘यो नेपाली शिर उचाली संसारमा लम्किन्छ’ बोलको पहिलो राष्ट्रिय गीत आफ्नै देशमा रेकर्ड भयो । डोनेसनमा पाएको मिक्सरबाट पनि सबै कलाकारको गीत रेकर्ड हुन नसकेपछि नेपाली कलाकार भारतमै गएर धेरै गीत रेकर्ड गराउँथे । ०२० सालतिर गायक प्रधानले पनि केही गीत भारतमै रेकर्ड गराए ।

कान्छीआमापट्टि बुबा बस्ने भएकाले आफ्नी आमा पाल्नुपर्ने दायित्व प्रधानकै थियो । हुन त उनकी आमाको हातमा पुतली बनाउने सीप थियो । त्यसैबाट आमाछोराको गुजारा चले पनि त्यो स्थायी हुन नसक्ने उनलाई थाहा थियो । त्यही भएर उनले रेडियो नेपालमा स्थायी जागिरका लागि प्रयास गरे । तर, सफल हुन सकेनन् । रेडियो नेपालमा स्थायी जागिर नपाएपछि उनले नेपालबाहिर पैसा कमाउन जाने सोच बनाएका थिए । संयोगवश उनले त्यस वेला अमेरिकन लाइब्रेरीमा जागिर पाए र आफ्नो सांगीतिक यात्रालाई पनि निरन्तरता दिँदै सोही जागिरमा ३३ वर्ष बिताएर ‘रिटायर्ड’ भए ।

बिहानदेखि अमेरिकन लाइब्रेरीको जागिर र बेलुकीको समयमा सरस्वती कलेज पढ्न थाले । त्यस वेला काठमाडांै उपत्यकासम्म सुनिने भारतीय रेडियोहरूबाट हिन्दी गीतहरू सुन्ने गायक प्रधानले संगीतकार नातीकाजी, गीतकार रत्नशमशेर थापा र गायक योगेश वैद्यलगायतसँग सहकार्य गरेर नेपाली सांगीतिक क्षेत्रमा अजर–अमर गीत–संगीत दिँदै अगाडि बढे ।

कोल्टे फर्किएर लामो सास तान्दै उनले कुनै हतार नगरी फेरि कुराकानी सुरुवात गरे । गायक प्रधानले घरीघरी हामीलाई चिया पिउन अनुरोध गरिरहेका थिए । उनको कुरा सुनिरहँदा केही समयअघि उनका सहयोगीले ल्याएको चियाबाट बाफ उड्न छोडिसक्दासम्म हाम्रो ध्यान खिच्न सफल थियो उनको उत्साहपूर्ण सम्झनाका अभिव्यक्तिहरू । राम्रो तलबभत्ता तथा अन्य सुविधाको जागिर खाइरहेका गायक प्रधानलाई कुनै कुराको अभाव थिएन सायद । ‘म जागिरलाई जति प्राथमिकता दिन्थेँ, सांगीतिक क्षेत्रलाई पनि त्यति नै प्राथमिकता दिएँ । आफ्नै खर्च जुटाएर भारतको दिल्ली–बम्बईसम्म पुगेर गीत रेकर्ड गरिन्थ्यो । त्यो रहर थियो, तर त्यसले नेपाली सांगीतिक दुनियाँमा राम्रै गरेछ, त्यही भएर त तपाईंहरू यहाँसम्म आउनुभयो नि ।’ यसो भनिरहँदा मुस्कुराइरहेको उनको उज्यालो अनुहारले नयाँ पुस्तालाई पेसाप्रति इमानदार र प्रतिबद्ध हुन प्रेरित गरिरहेको थियो ।

गायक प्रधान आफूले अहिलेसम्म गाएका गीतको संख्या बताउन सक्दैनन् । उनी भन्छन्, ‘त्यस वेला जति गाइन्थ्यो, सबै हावामा गाइन्थ्यो । श्रोताले सुन्थे, आफूले त झन् सुन्नै पाइन्नथ्यो । रेकर्ड नै भएका गीतहरू पनि थुप्रै छन् ।’ गायक प्रधानले नेपालीसँगै नेवारी भाषाका पनि दर्जनौँ गीत गाएका छन् । उनले भारतीय गायिकाहरूसँग पनि गीत गाएका छन् । २००९ सालदेखि गीत गाउन सुरु गरेका गायक प्रधानले २०२३ सम्म धेरै गीत गाए पनि यो नेपाली शिर उचालीबाहेक सबै रेकर्ड भएर रहेनन् । आफ्ना रेकर्ड भएका गीतहरू सम्झिँदै आफ्नो स्वरमा आधुनिक गीत तीन सयभन्दा बढी, राष्ट्रिय गीत पचास वटाभन्दा बढी, भजन र करिब एक सयवटा नेवारी गीत गरी साढे ६ सयवटाजति गीत रेकर्ड रहेको उनले बताए ।

सांगीतिक यात्राकै क्रममा उनी देशभित्रकै विभिन्न क्षेत्रदेखि विदेशसम्म पुग्ने गर्थे । त्यस वेला अहिलेजस्तो नेपाली कलाकार सांगीतिक यात्राकै लागि देश र विदेश दौडाहामा जाने अवसर हुन्नथ्यो । यद्यपि, उनलाई विभिन्न क्षेत्रमा पुग्ने र गाउने अवसर पटक–पटक आइरहे । उनले विभिन्न क्षेत्रमा प्रशंसक र शुभचिन्तकको माया र साथ पाइरहे । तर, पनि समय र परिस्थितिअनुसार उनी कसैको मायाप्रेममा फसेनन् । ‘त्यस वेला केटा र केटीबीच कुराकानी हुनै गाह्रो थियो । केटीहरूले प्रेमप्रस्ताव राख्ने त कल्पनै गर्न सकिन्नथ्यो । केटाहरूले पनि प्रेम प्रस्ताव राख्न अहिलेजस्तो अनुकूल प्रविधि र वातावरण थिएन,’ उनी सम्झिन्छन्, ‘जति नै कडा समाज भए पनि केही प्रस्ताव भने आएकै थिए ।’ प्रेमबारेको कुराकानीमा गायक प्रेमध्वजको अनुहारले उत्साह र ‘रोमान्टिक मुड’ छर्लंग बताइरहेको थियो ।

राष्ट्रिय नाचघरमा एकल सांगीतिक कार्यक्रम गर्नेदेखि काठमाडांैबाहिर केही सांस्कृतिक कार्यक्रममा गएर उनले पैसा संकलन गरे । आफ्नै कमाइले घर बनाए र आमाकै प्रस्तावअनुसार उनले विसं। २०२८ फागुन ६ गते विवाह गरे । गायक प्रधानका दुई छोरा छन् । उनका छोराबुहारी र नाति अमेरिकामै छन् भने अहिले आफ्नै घर काठमाडौँको बागबजारमा गायक प्रधान श्रीमती र केही सहयोगीका साथ दिन कटाइरहेका छन् । गीत गाएर कहिल्यै नथाकेका गायक प्रधान भन्छन्, ‘मेरो संगीतसँग यति गहिरो प्रेम बसेको छ कि अहिले पनि गीत गाउँदा जवानीमै छु जस्तो लाग्छ ।’

तपाईको प्रतिक्रिया