२६ फागुन इनरुवा। सुनसरीको इटहरीमा रहेको पर्यटकिय क्षेत्र तालतलैयामा रहेका संरक्षित पंक्षिहरुमा वर्डफ्लु रहेको पुष्टि भएसँगै आसपासका क्षेत्रमा समेत सर्तकता बढाइएको छ । पर्यटकको आर्कषणकालागि तालतलैयामा राखिएका पंक्षिहरु एकसातायता मर्न थालेपछि नमूना संकलनका क्रममा बर्ड फ्लु रहेको पुष्टि भएसँगै सो आसपासका क्षेत्रमा जिल्ला पशु सेवा कार्यालय सुनसरीले निगरानी र सर्तकता बढाएको छ ।

पर्यटन प्रवद्धनका लागि संरक्षित गरि राखिएका हुचिल देखि लिएर अन्य पंक्षीहरु वर्डफ्लुका कारण मरेपछि बाल उद्यान सहित संक्रमित्र क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रवेशमा रोक लगाइएको छ । के कसरी रोग सरेको बारेमा खुल्न नसकेपनि बाह्य पंक्षीहरु आउने तालतलैया क्षेत्रमा बर्ड फ्लु भेटिएपछि आसपासका गाउँ र वस्तीमा रहेका अन्य पंक्षीहरुको अवस्था नियाल्न थालिएको वरिष्ठ पशु विकास अधिकृत शिवनाथ महतोले बताए ।

मरेका पंक्षीहरुलाई व्यवस्थित गर्ने देखी सरसफाईका साथै आसपासका क्षेत्रमा नियमित अनुगमन र सर्तकता अपनाइएको महतोले बताए । महतोले जिल्लाका सम्भावित अन्य क्षेत्रमा समेत बर्ड फ्लु बारेको अध्ययन र अनुसन्धान थालिएको बताए । उनले कहीँकतै पंक्षिहरु मरे कार्यालयमा जानकारी गराउन समेत आग्रह गरे । यसैवीच चिमडी स्थित रहेको बरजु ताल क्षेत्रमा समेत केहीदिनयता चराचुरुङ्गीहरु मर्न थालेको स्थानीयहरुले बताएका छन् । जिल्लाका केही अन्य क्षेत्रमा समेत वर्ड फ्लुको आशंका गरिएको छ ।

तपाईको प्रतिक्रिया