२८ फागुन, दिलिप साह राजविराज । फागुन २३ गते भएको मोर्चा र प्रहरी बीचको झडपमा मृत्यु भएको चार जनाको शोकाकुल परिवारमा पाँच दिनदेखि चुलो बलेको छैन । शवको प्रतिक्षामा रहेका मृतकका आफन्तजन गहिरो शोकले बेदना थाम्न नसकेर घरिघरि भकानो छाडी रोएर दिन बिताउन बाध्य छन । गत सोमबार बिहान चुलोमा पकाएको खाना नै ति परिवारका लागि बज्रपात झै खसेको कारण केहिछिनमै शोकमा डुबाइयो ।

यसै शोकमा डुबेका आफन्तजनले पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिएर संस्कार नगरेसम्म चुलो त के बाल्नु खाना समेत खाएका छैनन् । आमाबुवा, श्रीमति, छोराछोरी, दिदीबहिनी सहित सिङ्गो परिवार भोकै बसेर मृतवास्थाको अनुहार हेर्न ललायित मात्र छैनन, विगतका भलाकुसारीलाई सम्झेर छिनछिनमै रुवावासी नै चल्छ ।

यस शोकको घडीमा समवेदनासँगै परिवारजनलाई जिज्ञासा व्यक्त गर्न जाने जोसुकै लस्करलाई देख्नबित्तिकै कोमल आत्मको धैर्यता फुटेर रुवावासीको दृष्य शोकसन्तप्त परिवारमा दिनचार्या बनेको छ । यसै दिनचार्यले मृतक परिवारका सदस्य गलिसकेका छन । सप्तरीको बसबिट्टी गाविसस्थित औद्योगिक क्षेत्रमा गत सोमबार दिउँसो ४ः०० बजे एमालेको आयोजित मेचीमहाकाली अभियान अन्तर्गत जनसभालाई मधेसी मोर्चाले बिथोल्न खोज्दा प्रहरीले चलाएको गोलीले जिल्लाकै चार जनाको मृत्युले गहिरो शोकमा डुबाएको छ । मृतक चारमध्ये तीन जना मलेठ गाविसका एक जना प्रसबनी गाविसका छन ।

हाल मृतक चारैजनाको शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा राखिएको छ । हिन्दु परम्परा अनुसार मृतकको अन्त्येष्टि नभएसम्म घरमा चुलो बल्दैन । तर, मृतकको घरमा मात्र नभएर छिमेकहरु समेतले चुलो बालेका छैनन् । प्रहरीले गोली चलाउन थालेपछि भाग्ने क्रममा पछाडिबाट टाउकोमा गोली लागेर घटनास्थलमै ज्यान गुमाएका मलेठ २ का सञ्जन मेहता पान व्यवसायी हुन । छातीमा गोली लागेर ज्यान गुमाएका मलेठ ४ का ५० वर्षीय पिताम्बर मण्डल पनि कुनै पार्टीमा आवद्ध थिएनन् । घरमा रंगरोगन गर्ने मजदुर थिए । यस्तै मलेठ २ का ३२ वर्षीय विरेन्द्र मेहता पनि कुनै पार्टीमा आवद्ध थिएन । उहाँको पेटमा गोली लागेको थियो । घर नजिकै रहेको सडकमा निस्केको बेला गोली पेटमा लागेर ढलेका थिए ।

छातीमा गोली लागेर ज्यान गुमाएका सप्तरीको प्रसवनी – ४ टेगरी स्थायी घर भई राजविराज ९ मा बस्दै आएका आनन्दकुमार साह स्वास्थ्यकर्मी थिए । सोही दिन जिल्लाको डीमन गाविसस्थित स्वास्थ्य चौकीबाट काम सकेर राजविराज फर्कने क्रममा थिए । उक्त स्वास्थ्य चौकीका सिनियर अहेव थिए । साह पोलियो खोप पुर्याएर राजविराज फर्किने क्रममा छातीमा गोली लागेको थियो । पिताम्बर र आनन्दको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति नै मृत्यु भएको थियो भने बिरेन्द्रको २५ गते धरानमै उपचारको क्रममा मृत्यु भएको हो ।
पारिवारिक अवस्था एकदमै नाजुक रहेका पिताम्बर मण्डल पाँच सन्तान र बुढो बुवाको एकलो साहारा बैशाखी थिए । ऋण काढेर छोरीहरूको बिहे गरेका मण्डलका दुई छोरा बेरोजगार छन् ।

मण्डलकी पत्नी सोमनदेवीले भकानो छोडी रुँदै भनिन, ‘हाम्रो संसार नै उजाडियो, उहाँ घरका एक्लो अन्नदाता व्यक्ति थिए ।’ मण्डलका ७५ वर्षीय बाबु गोसाईले रुदै भन्नुभयो, ‘घर अगाडिको सडकमा निस्कियो र ज्यान लियो ।’ नौ महिना नबित्दै सञ्जनकी श्रीमती सबिता विधवा भएकी छिन् । उनकी संसारै उजाडिएको छ । घटनापछि बेहोस् भएकी सबिताको हाल विराटनगरस्थित एक अस्पतालमा उपचार भइरहेको छ । भाइको मृत्युको खबरले सञ्जनका दाजु रञ्जन हृदयघात भई विराटनगरमै अस्पतालमा भर्ना भएका छन् । गाउँको पान पसलमा सघाउँदै आएका सञ्जनको मृत्युपछि उहाँकी आमा पटक-पटक मुर्छित हुने गरेकी छन् ।

गोली लाग्नु अघि आनन्दले एकछिनमै आउँदै छु भनेर श्रीमति अनितासँग मोबाइलमा गरेको कुरा सधैका लागि अन्तिम नै भयो । मोबाइलमा गरेको कुराको केहि छिनपछि पति मरेको खबर सुन्नु परेको अनिता आजसम्म अचेत नै छिन । आनन्दका बृद्ध वुवा शिक्षक युनियन सप्तरीका पूर्वअध्यक्ष नारायण साह दुई वर्षयतादेखि पारालाइसिस रोगका कारण राम्ररी बोल्न र हिडन सकिरहेका छैन । बृद्ध आमा अनुपेश्वरी सोमबारदेखि नै छोराको शोकमा टोलाइरहेकिछिन । परिवारको अवस्था हेर्न आउने जोसुकैलाई देख्नेबित्तिकै रोएर बेदना पोख्ने गरेका छन ।
पाँच वर्षमुनिका बालबालिकाका लागि पोलियो थोपा पुर्याएर घर फर्किरहेका आनन्द साह घरसम्म पुग्न सकेनन् । मिलनसार स्वभावका साहका श्रीमती दुई छोरा छन् । जेठो छोरा अभिशेख ११ कक्षा र कान्छो अनुज ७ कक्षामा अध्ययनरत छन् । अर्को कृषि पेशामा आश्रित बिरेन्द्र महतोको श्रीमती र दुई छोरी छन् । उहाँ घरको एक्लो कमाउने व्यक्ति थिए ।

तपाईको प्रतिक्रिया