२८ फागुन, दिलिप साह राजविराज । नेकपा एमालेको मेची महाकाली अभियान अन्तर्गत फागुन २३ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र प्रहरी बीचको झडपमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकाहरुको शनिबार दिउँसो सामूहिक शवयात्रा निकालिएको छ ।
प्रहरीले गोली चलाउँदा मलेठ गाविस– २ का २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल र प्रसवनी–४ टेङ्गरीका ४० वर्षीय सिनियर अहेव आनन्दकुमार साह, मलेठ–४ का ३२ वर्षीय विरेन्द्र महतो र जमुनी मधेपुरा–१ कौटवीका ५५ वर्षिय ईनरदेव यादवको मृत्यु भएको थियो ।

सप्तरीको राजविराज नगरसहित हनुमानगर, भारदह, कञ्चनपुर, रुपनी हुँदै राजविराज आएर परिवारजनलाई संस्कारका लागि जिम्मा लगाइने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका नेता गजेन्द्र मण्डलले बताए । राजविराजबाट शवयात्रा निकाल्नु भन्दा अगाडी संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा, सद्भावनाका उपाध्यक्ष नवलकिशोर साह, रामसपाका उपाध्यक्ष शेखर सिंह, संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साह लगायत केन्द्रीय, जिल्लाका नेता तथा सर्वसाधारणहरुले श्रद्धाञ्जली अर्पन गरेका थिए ।

गएराती नै धरानबाट ल्याएको शव रातभरी राजविराज स्थित गजेन्द्र चोकमा राखिएको थियो । बिहानैदेखि अविरल वर्षाले गर्दा शवयात्रा निकाल्ने कार्य प्रभावित भएको हुँदा साढे १२ बजेपछि शवयात्रा निकालिएको हो । पार्थिव शरिरमा मोर्चा आवद्ध सातवटै पार्टीले सामूहिक झण्डा ओढाएर सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया