काठमाडौं– मधेसी मोर्चाको एक घटक एवम् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादलले सरकारलाई बुझाइएको ३५ बुँदे माग आफूहरुको नभएको बताएका छन् । मोर्चाको वार्ता टोलीले सरकारसामु ३५ बुँदे माग पेश गरेर वार्ता थालिसकेको अवस्थामा यादवले यस्तो बताएका हुन् । ‘अहिले वाहिर ३५ बुँदेको चर्चा भएको छ, तर त्यो मधेसी मोर्चाको माग होइन’, बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै यादवले भने, ‘ कहिले ३५ बुँदे कहिले ४० बुँदे कहिले १७ बुँदे माग कहाँबाट आयो त्यो मलाई थाहा छैन । मोर्चाको मुख्य माग भनेको विगतमा भएको ८ बुँदे र २२ बुँदेको कार्यान्वयन हो ।’
विगतमा भएका ८ बुँदे र २२ बुँदे मागको सम्बोधन हुनेवित्तिकै आन्दोलन रोकिने भन्दै विभिन्न नयाँ–नयाँ माग राख्नुको कुनै औचित्य नभएको यादवको भनाई छ ।

स्रोतका अनुसार ३५ बुँदे माग पूर्व राजदूत विजयकान्त कर्ण र थर्ड एलायन्सका अध्यक्ष दिपेन्द्र झाले तयार गरेर गत सोमबार साँझ बसेको मोर्चाको वार्ता टोलीलाई बुझाएका थिए । सोही ३५ बुँदेलाई मोर्चाको वार्ता टोलीले मंगलबारको बैठकमा बुझाएको थियो । यसबारे बुझ्दा तमलोपाका महामन्त्री सर्वेन्द्रनाथ शुक्लाले पनि कर्ण र झाले वार्ता टोलीलाई ३५ बुँदे मागपत्र बुझाएको र सोहि मागपत्र सरकारसँग वार्तामा बुझाइएको बताए ।

 

तपाईको प्रतिक्रिया