२९ फागुन, कञ्चनपुर । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीको गोली लागेर ज्यान गुमाएका गोविन्द गौतमको शव यात्रा सुरु भएको छ । स्थानीय दोदा नदीमा राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्नुअघि अहिले गौतमको शव राखिएको सेती अञ्चल अस्पतालबाट शव यात्रा निकालिएको छ । फूलमाला र ब्यानरसहित गौतमको शवयात्रा सुरु भएको छ । अस्पतालबाट शव यात्रा गरेर गौतमको शव झण्डै ६ किलोमिटर टाढाको दोदा नदी किनारमा लगेर अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 गौतमको शवलाई ११ जना प्रहरीको सलामीसहित राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जानकारी दिए । दशगजा क्षेत्रमा कलर्भट बनाउने विषयमा विवाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसवीले चलाएको गोली लागेर गौतमको ज्यान गएको थियो । गौतमलाई सरकारले शहीद घोषणा गर्नुका साथै परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय यसअघि नै गरिसकेको छ ।

तपाईको प्रतिक्रिया