चैत्र २ इनरुवा/बाल गृहको अवस्था र सुधार विषयक सरोकारवालावीचको अन्र्तकृया सुनसरीको इनरुवामा सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालय सुनसरीले आयोजना गरेको कार्यक्रममा बाल गृह संचालक तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा आवाशिय बाल गृह संचालन तथा व्यवस्थापन मापदण्ड २०६९ अनुसार कार्यान्वयनको अवस्था बारे छलफल चलाइएको थियो ।
बाल गृहको अवस्था, भोजन, पोषण, स्वास्थ्य, शिक्षा, मनोविमर्श र अधिकार लगायतका सवालमा जिल्लास्थित रहेका बाल गृहले अवलम्बन गर्दै आएका प्रकृयाको मूल्यांकन तथा सुझावलाई अन्र्तकृयाको मूल विषय बनाइएको थियो ।


सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरी संयोजकत्वको टोलीले जिल्लामा रहेका ६ वटा बाल गृहको अवस्था अनुमगन गरेको थियो ।
अनुगमन पश्चात उक्त टोलीले बाल गृह संचालकहरुले नागरिकता र जन्मदर्ता सहज तुल्याउनुका साथै अक्षयकोषको व्यवस्थालाई चुस्त बनाउँदै सरकारी अनुदान जुटाउने तर्फ अग्रसर हुन सुझाव दिइएको थियो । अन्र्तकृयामा सहायकज प्रजिअ राजेश गिरी, महिला तथा बालबालिका कार्यालय प्रमुख गिता न्यौपाने, जिल्ला बाल कल्याण समिति सुनसरी अध्यक्ष जगदिशप्रसाद ओली, अगुवा पुरुषोत्तम घिमिरे सहित बालबालिकाका क्षेत्रमा कार्यरत सरोकारवालाहरुको उपस्थिती रहेको थियो । सुनसरीमा संचालनमा रहेका विभिन्न बाल आश्रमहरुमा आश्रय लिने बालबालिकाको संख्या २ सय बढी रहेको छ ।

तपाईको प्रतिक्रिया