चैत्र ७, अमर काफ्ले इनरुवा । कार्यकारी अधिकृतको सरुवाको विरोधमा स्थानीय राजनैतिक दलले इनरुवा नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । नगर स्तरीय दलका अध्यक्ष तथा अगुवा कार्यकर्ताहरुले कार्यकारी अधिकृत रामचरित्र मेहताको सरुवाको विरोध जनाउँदै कार्यालयमा तालाबन्दी गरेका हुन् ।


तालाबन्दी पूर्व उनिहरुले कर्मचारीहरुलाई बाहिर निकालेर मुल गेटमा ताला लाएका हुन् । स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गरी गरिएको सरुवाले नगरको विकास निर्माणमा प्रत्यक्ष असर पुग्ने भन्दै उनिहरुले नयाँ प्रनीनिधी चुनिएर नआएसम्म हालकै अधिकृतको थमौतीको माग गरेका हुन् । नगर अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै कार्यकारी अधिकृत मेहताको थमौति नगरिए नयाँ आउने अधिकृतलाई कार्यालय प्रवेशमा रोक लाउनुका साथै हाजिर गर्न नदिने निर्णय समेत गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, नयाँ शक्ति र सद्भावना गजेन्द्रवादी लगायतका नगर अध्यक्षहरुले विज्ञप्तीमा हस्ताक्षर गरेका छन् । सरकारले स्थानीय तह कार्यान्वयनमा ल्याएसँगै इनरुवाका कार्यकारी अधिकृत मेहतालाई सुनसरीकै बरजु गाउपालिकामा सरुवा गरेको छ । मेहताको स्थानमा मन्त्रालयले टुबराज पोखरेललाई कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पेको छ ।

तपाईको प्रतिक्रिया