०७ चैत, दिलिप साह राजविराज । एकसाता देखि कुखुरा र खशीको मासुमा अत्यधिक मूल्य बृद्धि भएको छ । होली पर्व देखि कुखुरा र खशीको मासु प्रति किलो रु. एकसय बढी मूल्य बृद्धि भएको छ । मासुको मूल्य निर्धारण गर्ने निकायको उदासिनताका कारण मासु व्यवसायीहरुले आफुखुशी मूल्य तोकेर बिक्री गरिरहेका छन । एकसाता अघिसम्म रु. दुई सयमा प्रति किलो कुखुराको मासु बिक्री हुने गरेकोमा अहिले रु. तीन सयमा बिक्री भइरहेको छ भने रु. ६ सय ५० मा बिक्री भइरहेको खशीको मासु अहिले रु. ७ सय ५०मा बिक्री भइरहेको छ ।

मूल्य निर्धारण र नियमनकारी निकायको उदासिनताले मासु व्यसायीहरुले आफुखुशी मूल्य तोकेर बिक्री गर्नुको साथै गुणस्तरहिन मासु समेत बिक्री भइरहेको राजविराज–७ का उपभोक्त डोमन साहले जानकारी दिनुभयो । खशीको मासुमा बाख्रीको मासु मिसाएर बेच्ने गरेको हुन्छ भने कुखुराको मासुमा अत्यधिक पानी मिसाएको मासु खरिद गर्न बाध्य रहेको बताउँदै उहाँले भन्नुभयो, मासुको तौल पनि कम रहन्छ ।

व्यवसायीहरु कहिलेकाँही कुनै रोग लागेर मरेको खशी र कुखुराको मासु समेत बेच्छन । जिल्लाको सदरमुकाम राजविराज नगरसहित रुपनी, कठौना, कल्याणपुर, बोदेबर्साइन, हनुमाननगर, भारदह, कञ्चनपुर, फत्तेपुर लगायतका बजारहरुमा खसीबोका कुखुरा, तथा सुँगुरको मासु बिक्री हुने गरेको छ । राजविराज नगरभित्रै फोहर थुपारिएको तथा खुल्ला दिसापिसाब गरिने ढलनल माथी खुल्ला रुपमा मासु बिक्री हुने गरेको छ । जनआन्दोलन चोक, मालपोत कार्यालय अगाडी, राजदेवी रोड, सिनेमा हल अगाडी, लगायत नगर भित्र करिब दुई दर्जन भन्दा बढी यस्ता मासु पसल सञ्चालनमा रहेका छन ।

तपाईको प्रतिक्रिया