०७ चैत, दिलिप साह राजविराज । सप्तरी जिल्लामा कायम गरिएको स्थानीय तह पुनंसरचनाका १७ वटै कार्यालयका प्रमुख तोकिएको छ । सरकारले यहाँका नगरपालिका तथा गाउँ पालिकामा प्रमुख तोकिएपनि मोर्चाको तालाबन्दीका कारण कार्यालयको कामकाज प्रभावित भएका छन ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका नेता तथा कार्यकर्ताहरुले जिल्लाका सम्पूर्ण नगरपालिका र गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । सरकारले हालै निर्धारण गरेको संरचना अनुसार जिल्लामा आठ वटा नगरपालिका र नौ वटा गाउँपालिका निर्धारण गरिएको छ । मोर्चाले राजविराज, कञ्चनरुप, डाकनेश्वरी, बोदे बर्साइन, खडक, शम्भुनाथ, सुरुंगा र हनुमाननगर कंकालिनी नगरपालिका र कृष्णा सोवरण, छिन्नमस्ता, महदेवा, सप्तकोशी, तिरहुत, तिलाठी कोइलाडी, रुपनी, बेल्ही चपेना र विष्णुपुर गाउँपालिकामा तालाबन्दी गरिएको छ ।
स्थानीय तहको संरचना विभेदपूर्ण भएको तथा परिमार्जनसहितको प्रस्ताव पारित गरी संविधान संशोधन नभएसम्म कुनै पनि चुनाव हुन नदिने भन्दै मोर्चाले स्थानीय निकायमा तालाबन्दी गरेको मोर्चाका सप्तरी संयोजक दिनेशकुमार यादवले प्रेस विज्ञप्ती मार्फत जानकारी दिनुभयो ।

परिमार्जनसहित संविधान संशोधन, स्थानीय तहको पुर्नसंरचना अवैज्ञानिक र अव्यबहारिक रहेकोले सच्याउनुपर्ने, स्थानीय तहलाई केन्द्र सरकार नभई प्रदेश सरकारको मातहतमा राख्नुपर्ने, स्थानीय तहको निर्वाचन अगाडि संघीय तथा प्रदेशको निर्वाचन गर्नुपर्ने, समान जनसंख्याको आधारमा स्थानीय तहको निर्धारण गर्नुपर्ने, फागुन २३ गते सप्तरीको घट्नामा प्रहरीद्वारा मारिएका पाँचै जनालाई शहीद घोषणा गर्नुपर्ने, उक्त घट्नाको निष्पक्ष न्यायायीक छानबिन आयोग गठन गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा राज्यको दमन बन्द गर्नुपर्ने र संघियतालाई समाप्त पार्ने षडयन्त्र रोक्नु पर्ने मोर्चाको माग रहेको संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साहले जानकारी दिनुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्लाका राजविराज नगरपालिकामा उमेशकुमार यादव, कंचनरुप नगरपालिकामा धिरेन्द्रकुमार यादव, शम्भुनाथ नगरपालिकामा विष्णुप्रसाद न्यौपाने, डाक्नेश्वरी नगरपालिकामा रामनारायण साह, बोदेबर्साइन नगरपालिकामा शम्भुप्रसाद साह, खडक नगरपालिकामा रन्जितकुमार यादव, सुरुङ्गा नगरपालिकामा प्रमोदकुमार साह र हनुमाननगर कंकालिनी नगरपालिकामा सुरेन्द्र यादवलाई प्रमुखको जिम्मेबारी तोकिएको छ ।

यस्तै कृष्णासवरन गाउँपालिकामा राजिवकुमार झा, छिन्नमस्ता गाउँपालिकामा प्रमोदकुमार चौधरी, महदेवा गाउँपालिकामा कल्पना अर्याल, सप्तकोशी गाउँपालिकामा राजेन्द्रप्रसाद पोखरेल, तिरहुत गाउँपालिकामा शोभादाहाल कर्ण, तिलाठी कोइलाडी गाउँपालिकामा रामसुन्दर थापा, बेल्हीचपेना गाउँपालिकामा विकास रजक, रुपनी गाउँपालिकामा रिनु थपलिया र विष्णुपुर गाउँपालिकामा सरोजकुमार चौधरीलाई कार्यकारी अधिकृत तोकिएको छ । यता नागरिकता सिफारिश, जन्मदर्ता, विवाह दर्ता, मृत्युदर्ता, घरजग्गा सिरफारिश, नक्सापास लगायतका कामका लागि आउने सेवाग्राहीहरु सेवा नपाई रित्तै फर्किने गरेका छन ।

तपाईको प्रतिक्रिया