अमर काफ्ले, इनरुवा चैत्र ८ / मुलुक निर्वाचन उन्मुख बनेको छ । चुनावको मिति नजिकिंदै जाँदा निर्वाचन आयोगले आचार संहिता समेत लागु गरिसकेको छ । यस्तोमा इनरुवा नगरपालिकामा भने स्वयं राजनैतिक दलहरुले तालाबन्दी गरेका छन् । आचार संहिता लागु भएसँगै सबैले कानुन पालना गर्नुपर्ने हुन्छ । जसमा निर्वाचनमा भाग लिने दलहरु बढी जिम्मेवार र सचेत बन्नु पर्ने हुन्छ । यद्यपी इनरुवामा भने दलका नेताहरुलेनै आचार संहिताको ठाडो उल्लंघन गरेका छन् ।

स्थानीय तह कार्यान्वयनसँगै सरकारले गरेको अधिकृत सरुवाको विरोधमा इनरुवामा यतिवेला जिम्मेवार दलका नेताहरुनै तालाबन्दीमा उत्रेका हुन् । अन्यत्र सरुवा गरिएका कार्यकारी अधिकृत रामचरित्र मेहताको यथास्थानमा थमौतिको माग गर्दै नगर स्तरीय दलका अध्यक्षहरुनै तालाबन्दीमा उत्रिएपछि आचार संहिताको उल्लंघन मात्रै भएको छैन् । नगरपालिकाबाट सम्पादित कामकाज समेत प्रभावित बनेको छ ।
तालाबन्दी गरिनु कुनैपनि नगर अध्यक्षको एकल निर्णभ भन्दा पनि जिल्ला पंक्तिको सहमति वीना सम्भव नहुने भएकाले सम्वन्धित दलका सिंङगो जिल्ला पंक्ति उक्त तालाबन्दीको जिम्मेबार रहेको सर्वसाधारणहरुको भनाई छ । व्यक्तिगत स्वार्थ सिद्धीका कारण दलका नेताहरु तालाबन्दीमा उत्रिएको उनिहरुको आरोप छ ।

ताला खुलाउने तर्फ प्रशासनले समेत पहल गरेको देखिँदैन् । तालाबन्दीका कारण कर्मचारीहरुले काम गर्ने वातावारण नबन्दा सर्वसाधारण सेवाग्राही भने मार्कामा परेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, संघीय समाजवादी फोरम, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, नयाँ शक्ति र सद्भावना गजेन्द्रवादी लगायतका नगर अध्यक्षहरुको उपस्थितीमा कार्यालयामा हिजो तालाबन्दी गरिएको थियो ।

तपाईको प्रतिक्रिया