१२ चैत्र, विराटनगर। यमुनादेवी वैजनाथ भट्टराई स्मृति प्रतिष्ठान विराटनगरले दुई स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने निर्णय गरेको छ । मोफसलमा रहेर विगत साढे तीन दशक भन्दा बढी समयदेखि नेपाली भाषा साहित्यका क्षेत्रमा समर्पित रही विशेष योगदान दिएकाले कवि तथा कथाकार, प्राज्ञ विवश पोखरेललाई विक्रम संवत २०७३ सालको यमुनादेवी वैजनाथ भट्टराई स्मृति साहित्य पुरस्कार प्रदान गरिने भएको छ।
पुरस्कारको राशि २१ हजार र सम्मानपत्र रहेको छ । पोखरेलका दुई कथा, दुई कविता, दुई बालकविता, एक व्यङ्ग्य र एक मुक्तक संग्रहसमेत आठ कृति प्रकाशित छन् । दर्जनौं कृतिका सम्पादनसमेत गरिसकेका पोखरेल हाल नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्यसमेत रहेका छन् ।
यसैगरी उक्त प्रतिष्ठानबाट २०७३ सालको यमुनादेवी वैजनाथ भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट युवा सञ्चारकर्मी लीलाराज भट्टराई पुरस्कृत हुने भएका छन् । उक्त पुरस्कारको राशि ७ हजार र सम्मानपत्र रहेको छ । भट्टराई सप्तकोसी एफएम, राजधानी दैनिक, मोफसल, पूर्वज्योति, फेवा, चाणक्य साप्ताहिक लगायतका पत्रपत्रिकामा सम्बद्ध युवा पत्रकार हुन् । संस्थाकी अध्यक्ष कविता चापागाईको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कार आगामी चैत १५ गते इटहरीमा प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया