१२ चैत्र, सुमन भट्टराइ इटहरी। अन्तर्राराष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिताको १२ औँ संस्करण पूर्वाञ्चलको इटहरीमा आयोजना गरिने भएको छ । इटहरीमा हाल सम्मकै ठुलो अन्र्तराष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिताका रुपमा रहने प्रतियोगिता सन् २०१८मा आयोजना हुने पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

आईओएफटीसीले इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता बारे जानकारी गराएको हो । आईओएफटीसी अमेरिकाको पोर्टल्याण्डमा स्थापना भएको अन्तर्राष्ट्रिय तेक्वान्दो संस्था हो । संस्थाका प्रतियोगिता निर्देशक दिवाकर डान महर्जन सहितको टोली नेपाल आएर प्रतियोगिताको बारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिता निर्देशक महर्जनले १२ औँ संस्करण आगामी सन् २०१८मा आयोजना गर्न लागिएको जानकारी दिएका हुन । प्रतियोगिताको तयारी अन्र्तगत खेल हुने स्थानको बारेमा जानकारी दिन महर्जन सहितको टोली अमेरिकाबाट नेपाल आएको हो ।

प्रत्येक २ । २ बर्षमा हुने प्रतियोगिताको १२ औँ संस्करण अष्ट्रेलियको सिड्नीमा आयोजना हुने भनिए पनि खेलकुद परिषदको पहलले इटहरी ल्याइएको बताइयो । आईओएफटीसीको १२ औँ संस्करणका लागि दक्षिण एसियाबाट नेपाल सहित भारत, पाकिस्तान,श्रीलंका,बंगलादेशको सहभागिता रहने छन । यस्तै प्रतियोगितामा अमेरिका,क्यानडा, बेलायत,मेक्सिको, मकाउ, हङकङ,जापान, कोरिया, ग्वाटेमाला लगायतका देशका खेलाडीहरुको सहभागीता हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो । पूर्वमै पहिलो पटक हुन लागेको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताले पूर्वको खेल विकासमा महत्वपूर्ण हुने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले बताए । इटहरीमा गरिने प्रतियोगिताका लागि आवश्यक सहयोग खेलकुद परिषदबाट गर्ने पनि उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया