इनरुवा चैत्र १२/सुनसरीमा अन्तिम पटक हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सुनसरीभर एकसाथ यही चैत्र १७, १८ र १९ गते हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउन लागेको हो । कार्यालयले इनरुवामा आज पत्रकार सम्मेलनको आयोजना गरी अभियानको तयारीका बारेमा जानकारी गराएको हो ।

स्वास्थ्य कार्यालयले सुनसरीमा ७ लाख ७० हजार २७ जनालाई औषधी खुवाउने लक्ष्य लिएको छ । निशुल्क औषधी कार्यक्रमका लागि सुनसरीमा ३ सय २६ जना स्वास्थ्यकर्मी परिचालित हुनेछन् । औषधी खुवाउने कार्यमा ३ हजार १ सय ९९ स्वयंसेवक गरी ३ हजार ५ सय २५ जना जनशक्ति खटिने कार्यालयले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख मुकुन्द गौतमले औषधी निर्धक्क भएर सेवन गर्न जिल्लाबासीमा अनुरोध गर्नु भएको छ । डर र त्रास नलिई निर्धक्क भएर औषधी सेवन गर्न गौतमले आग्रह गर्नुभयो ।

सुनसरीमा केही महिना अघि गरिएको सर्वेक्षणमा रोगको संक्रमण अवस्था न्युन पाइएकाले कम जोखिमताका आधारमा जिल्लामा अन्तिम पटक औषधी खुवाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । हात्तिपाइलेको औषधी २ वर्ष नपुगेका केटाकेटी, गर्भवती र ७ दिनसम्मका सुत्केरी, क्यान्सर, मुटु रोगी, कलेजो रोगी, मृगौला रोगी, फोक्सोको दिर्घ रोगी, छारे रोग, कडा कुपोषण भएका बालबालिका, २४ घण्टा भित्र ज्वरो आएको व्यक्ति र अन्यखाले सिकिस्त बिरामीले हात्तिपाइलेको औषधी सेवन गर्न हुँदैन् । हात्तिपाइले (फाइलेरिया) नामक सरुवा रोग उच्चेरिया बाँक्रोफ्टी नामक फाइलेरिया परजिविबाट लाग्ने गर्दछ । उक्त परजिवि एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ ।

तपाईको प्रतिक्रिया