२७ चैत्र, मिकाइल आलम इनरुवा । सुनसरीको साविक हरिपुर र श्रीपुर अहिलेको कोशी गाँउपालिकाका कोशी पिडितहरुले आश्वासन मात्र दिने र काम नगर्ने राजनितिक दलका नेताहरुलाई आफुहरुले भोट नदिने बताएका छन । २०६५ साल भदौ २ गते आएको बाढीले प्रभावित भई सुकुम्बासी भएकाहरुले आफुहरुको हक अधिकार  सुनिश्चित गर्नेलाई मात्र भोट दिने बताएका छन ।

आफुहरु सँग विभिन्न किसिमको आश्वसन दिएर भोट लिने र जितेर गएपछि हेर्नपनि नआउने गरेको पाइएकोले यसपालिको स्थानीय चुनावमा त्यस्तो छवि भएका कुनैपनि राजनितिक दलका नेतालाई भोट नहाल्ने बताएका छन । सुकुम्बासीहरुमा अधिकाँश अशिक्षित रहेको हुनाले र उनीहरुमा राजनितिक चेतनाको कमि भएको फाइदा उठाएर चुनावको समयमा विभिन्न किसिमका आश्वासन दिने र पछि भेट्न पनि नआउने गरेको ईतिहास रहेकोले आफुहरुले त्यस्तो निर्णय गर्न बाध्य भएको कोशी गाँउपालिकाका स्थानीय कुलक्षण सदाको कथन रहेको छ ।

यसपालिको निर्वाचनमा कसैको झुठो आश्वासनमा नआउने बताउँदै सदाले चुनावमा आफु स्वच्छ छविका व्याक्तिलाई भोट हाल्ने आफ्नो योजना रहेको बताउँछन । २०७२ सालमा भएको संविधान सभाको दोश्रो निर्वाचनको बेला सुकुम्बासीहरुलाई क्षतिपूर्ति दिलाउनका लागि पहल गर्ने प्रतिबद्धता उम्मेदवारहरुले गरेको भएपनि आफुहरुको जीवनस्तरमा कुनै परिवर्तन नआएको सदाले गुनासो पोखे ।

कुन पार्टीका कुन कुन उम्मेदवारहरुले सुकुम्बासीहरुलाई क्षतिपूर्ति दिलाउने आश्वासन दिएको यकिनका साथभन्न नसकेपनि कुलक्षणका छिमेकी विलक्षण सदाले सुनसरीको ५ नः क्षेत्रबाट चुनाव जितेर गएका उपेन्द्र यादवले पनि आफुहरुको अवस्था बारेमा बुझ्न नआएको गुनासो गरे । चुनावको समयमा विभिन्न राजनितिक दलका नेता कार्यकर्ता घरदैलो अभियानमा भोट माग्न आउने गरेपनि चुनाव सकिएपछि भने हेर्नपनि नआउने गरेकोले यसपालिको स्थानीय चुनावमा स्वच्छ र निष्पक्ष छवि भएको उम्मेदारलाई भोट दिइने भने आफुहरुको योजना रहेको अर्का स्थानीय शिवम सदा बताउँछन ।

सदाले आफुहरु जनमजदुरी गरी परिवारको गुजारा गर्ने साधारण व्याक्ति भएको बताउँदै आफुहरुको कुनै ठुलो माग नभएपनि बाढीबाट भएको क्षतिको क्षतिपूर्ति दिलाउने लाई चुनावमा मत दिने बताए । कोशीगाँउपालिकामा मात्र करिब १ हजार मतदाता रहेको सुकुम्बासीहरुले हक अधिकार र ठुला ठुला आश्वासन दिने भन्दा क्षतिपूर्ति दिलाउन पहल गर्ने बताएका हुन । कोशी गाँउपालिका क्षेत्रका सुकुम्बासीहरुको मत निकै महत्वपूर्ण हुने भएकोले स्थानीय राजनितिक दलहरुले पनि सो क्षेत्रमा उनीहरुको मागलाई सम्बोधन गर्ने व्याक्तिलाई टिकट दिने तयारी गरेको आफुले पाइएको स्थानीय भण्टावारीकी समाजसेवी तारादेवी पौडेल बताउँछिन । भण्टावारीका स्थानीय राप्रपाकी नेतृ समेत रहेकी पौडेल सुकुम्बासीहरुको जायज माँगलाई सम्बोधन गर्न आफुपनि आफ्नो तर्फबाट सकेजति पहल गरेको दावी गरिन ।

स्थानीय कोशी गाँउपालिकाका काँग्रेस नेता जनार्दन पण्डितका अनुसार दुई दुई पटक सुनसरीको कोशी पिडित क्षेत्रबाट गएका नेताले सुकुम्बासीहरुको माग सम्बेधन गर्नका लागि कुनै पहल सम्म पनि नगरेको आरोप लगाए । चुनावको बेला विभिन्न किसिमको आश्वासन सुकुम्बासीलाई दिएपनि कुनै पनि काम नगरेकाले उनीहरुको निराश भएको अर्का काँग्रेसी नेता मन्जूर आलम बताउँछन । आलमले अरु पार्टीले चुनावको बेला गरेको प्रतिबद्धता पूरा नहुँदा सुकुम्बासी निराश हुनु स्वभाविक भएको बताउँदै काँग्रेसका उम्मेदवारहरुलाई यसपटक भोट दिएर बिश्वास गर्न आग्रह गरे ।

काँग्रेस जनताको पार्टी भएको बताउँदै साविक हरिपुर गाविसका गाँउ एकाई काँग्रेस सभापति बलराम क्षेत्रीले अरुले के गर्यो त्यो छाडेर काँग्रेस लाई बिश्वास गर्न आग्रह गरे । यस्तै सुनसरीको साविक हरिपुर गाविस एमालेका गाँउ एकाई अध्यक्ष सत्रुघन चौधरीले चुनावमा स्वच्छ छविका उम्मेदवारलाई पार्टीले उठाउने तयारी गरेको बताए।

तपाईको प्रतिक्रिया