इनरुवा चैत्र २८/तत्कालिन अवस्थामा टिकट नपाएको झोकमा काँग्रेस छाडेर फोरम लोकतान्त्रिकमा छिरेका गफार अन्सारी पूनं काग्रेसमा फर्केका छन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा नेपाली काँग्रेसबाट क्षेत्र नम्बर ५ को सभासदको टिकटका लागि निकै दौडधुप गरेका अन्सारी अन्ततः पार्टीले टिकट नदिंदा कांग्रेस छाडेर विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरममा छिरेका थिए ।

बैशाख ३१ गते तोकिएको स्थानीय तहको चुनाव नजिकिंदै जाँदा गफार पून काँग्रेसमै फर्केका छन् । दक्षिणवर्ती क्षेत्रको राजनीतिमा निकैनै प्रभावशाली मानिने गफार काँग्रेसले गाउँपालिकाको अध्यक्षको टिकट दिने आश्वासन दिएसँगै उनले लोकतान्त्रिक फोरम त्यागेका हुन्। काँग्रेस जिल्ला पंक्ति संगको सम्झौता मुताविक गफारलाई हरिनगरा गाउँपालिकाको प्रमुखको टिकट दिइन लागिएको कांग्रेस स्रोतले बताएको छ ।
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य रहेका गफारले सो पार्टी छाडी काँग्रेसमै फर्किनुलाई पदिय लाभको उद्येश्य प्रमुख कारक रहेको जानकारहरु बताउँछन् ।

उता कांग्रेसमा प्रवेशको कुरा स्विकारेका गफारले हरिनगरा गाउँपालिकामा जिम्मेवार र प्रभावशाली नेताको अभाव पूर्तिका लागि आफु काँग्रेसमा फर्किएको बताएका छन् । हरिनगरामा काँग्रेसको वर्चश्व कायम गर्न समेत पार्टीमा आफ्नो फिर्ति महत्वपूर्ण हुने उनको दावी छ । लोकतान्त्रिक छाडेका गफारलाई नेपाली काँग्रेस सुनसरीका सभापति राजिब कोइरालाले पार्टी प्रवेश गराएका थिए ।

तपाईको प्रतिक्रिया