२८ चैत्र, मिकाइल आलम इनरुवा । सुनसरीका ठुला दलहरुमा वडा अध्यक्ष देखि मेयर बन्नेहरुको आकांक्षी धेरै हुँदा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट गर्न समस्या हुने देखिएको छ । दुई दशक पछि हुन लागेको स्थानीय तह निर्वाचनमा स्थानियदेखि जिल्लास्तर सम्मका ठुला दलका नेताहरुबीच उम्मेदवार बन्ने आकांक्षी बढदै जादा उम्मेदवार छनोट गर्न झन्झटिलो हुने देखिएको हो ।

सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा सुनसरीका राजनीतिक दलहरु चुनावी तयारीमा जुटेका छन् ।दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा सुनसरीका दलहरु तिव्र रुपमा चुनावी अभियानमा जुटेका छन् । सरकारले आगामी २०७४ साल वैशाख ३१ गतेका लागि घोषणा गरेको स्थानीय तह चुनावका लागि सुनसरीका विभिन्न क्षेत्रहरुमा अहिले दलका नेता कार्यकर्ताहरु पार्टीको कार्यक्रमहरुमा सहभागी हुने र चुनावी माहोल तताउने गरेका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी ,मधेसी जनअधिकार फोरम लोकतान्त्रिक लगायत दलका नेता कार्यकर्ता वडा गाउँ र नगरका जनतामाँझ गईरहेका छन् । आफ्नो पक्षमा जनमत जुटाउनका लागि दलहरु सकृय भएर गाउँ गाउँमा खटिएका छन् । कांग्रेसले वडा नगरस्तरमा भेला, सम्पर्क कार्यालय खोलेर अगुवा कार्यकर्ता माझ छलफल संचालन गरिरहेको छ । एमालेले चुनावको तयारीका लागि नयाँ संरचना अनुसार वडा कमिटि विस्तार, वडा कार्यालय स्थापना गरेको छ भने माओवादी केन्द्रले स्थानीय तहको नयाँ संरचना अनुसार वडा भेला र सम्मेलन गरिरहेको छ ।

राप्रपाले समेत जिल्लाको गाउँ गाउँमा भेला संचालन गरेको छ । काँग्रेसले गाउँ नगरबाट उम्मेदवारको नाम क्षेत्र र जिल्लामा सिफारिस गरिरहेको र वैशाख पहिलो हप्ताभित्र उम्मेदवारको टुङगो लगाएर प्रचार प्रसारमा जुट्ने सो पार्टीले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीमा विभिन्न ३७ राजनीतिक दल दर्ता भएपनि २९ वटा दलमात्र स्थानीय निर्वाचनमा सहभागी हुनेछ । सुनसरीमा स्थानीय तह निर्वाचनमा सहभागीताका लागि २९ वटा दल योग्य भएपनि नेपाली काँग्रेस ,नेकपा एमाले ,नेकपा माओवादी केन्द्र ,राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक बाहेक अन्य दलहरु चुनावी तयारीमा खासै सक्रिय देखिएका छैनन् ।

सरकार र आन्दोलनरत मधेसी दलका बीच संविधान सन्सोधनको बारेमा अझैपनि सहमति जुट्न नसकेको र साना दलहरुको जनाधार नभएका कारण चुनावमा सक्रिय नभएको हुनसक्ने अनुमान गर्न सकिन्छ । ठुला राजनीतिक दलका कार्यकर्तालाई टिकट पाउनै मुस्किल परेको भएपनि उम्मेदवारका आकांक्षी नहुदा साना दललाई कसलाई उम्मेदवार बनाउने भन्ने चिन्ता छ । ठुला दलमा धेरै आकांक्षी र साना दलमा आकांक्षी कम हुँदा उम्मेदवारकै चिन्ता परेको देखिन्छ ।

संविधान जारी भैपछी नयाँ संरचना खडा भएसंगै विगत र अहिलेको दल र नेताको जनाधार परिर्वतन भएको हुँदा उम्मेदवारले चुनाव जित्ने भन्दा पनि टिकटकै चिन्ता छ । सुनसरीमा २ उपमहानगरपालिका ,४ नगरपालिका र ६ गाउँपालिकाको प्रमुख र उप प्रमुखका लागि मुख्य दलबाट चाहिने भन्दा बढि आकांक्षी देखिएपछि कुन उम्मेदवारलाई छान्ने भन्ने विषयमा ठुला दलहरुबीच समस्या देखिएको छ ।

तपाईको प्रतिक्रिया