इनरुवा बैशाख ५ /सुनसरीको पकलीमा समुदाय–प्रहरी ड्रामा क्लिनिक संचालनमा ल्याइएको छ । विपन्न र सिमान्तकृत समुदायको न्याय र सुरक्षामा पहुँच अभिवृद्धि सहितको पहुँच परियोजना अन्र्तगत प्रहरी ड्रामा क्लिनिक संचालनमा ल्याइएको हो ।


जिल्लाका विपन्न र सिमान्तकृत समुदायको बसोबासलाई आधार मानेर साझा सवालका लागि साझा मंच कोकन सहितका संस्थाहरुले पहुँच कार्यक्रम संचालन गर्दै आएका छन् । कार्यक्रमको प्रमुख उद्येश्य विपन्न र सिमान्तकृत समूदायको क्षमता अभिवृद्धि र न्यायमा समान पहुँच रहेको कोकनकी कार्यक्रम संयोजक मञ्जिता उपाध्यायले बताउनुभयो ।


कार्यक्रममा सहभागिहरुलाई समूह विभाजन गरी खेलका माध्यमबाट अन्तरवस्तुको ज्ञान दिलाउनुका साथै अन्र्तकृयाका माध्यमबाट क्षमता प्रस्फुटन जस्ता गतिविधी संचालन गरिएका छन् ।


कार्यक्रमको दोस्रो दिन सुनसरीका प्रहरी नायब उपरीक्षक प्रविण धितालले सहभागिहरुलाई सहजिकरण गर्नुभएको छ । कार्यक्रममा सहभागिहरुले उठाएका जिज्ञासा तथा प्रहरी र नागरिक सम्बन्धका बारेमा डिएसपी धितालले प्रस्ट्याउनु भएको थियो । कार्यक्रमको अन्तिम दिन भोली समूदायमा आधारित सडक नाटक आयोजना गरिने छ  । कार्यक्रममा प्रहरी तथा विपन्न तथा सिमान्तकृत समूदायका ३० जना बढीको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया