अमर काफ्ले बैशाख ८ /आज बैशाख ८ गते अर्थात भगवती मन्दिर इनरुवाको मेला । बैशाख १ गतेबाट सुरु भएको सिरुवा मेला महिनाभर विभिन्न गाउँठाउँमा लाग्ने गर्दछ ।

भगवती मन्दिरको मेलामा इनरुवाका साथै आसपासका क्षेत्रबाट समेत ठुलो संख्यामा मेला भर्न आउने गर्दछन् । विहानैबाट मेलाको रौनक देखिएको छ । पछिल्ला केही वर्षयता भने मेला पातलिंदै गएको छ । भगवती मन्दिरहाता सहित भगवती मावि अगाडीको मैदान हुँदै सडक ढाकेर लाग्ने मेला केही वर्षयता मन्दिर पछाडीको प्लटिङ गरिएको जग्गामा लाग्दै आएको छ ।


सो जग्गामा समेत पर्याप्त खाली स्थान नहुँदा व्यापारीहरु एकै स्थानमा कोचिएका देखिन्छन् । स्थान अभावले मेलामा अघिल्ला वर्षको जस्तो व्यापारीहको उपस्थिती देखिएको छैन् । एकै ठाउँमा कोचिएर ब्यापार गर्नु या मेला छाडेर अन्यत्र हिड्नु बाहेकको उनिहरुमा विकल्प देखिँदैन् ।


भगवती मावि अगाडीको मैदानमा विद्यालयकै नयाँ भवन बनेको छ । जहाँ मूख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरिएकाले सुरक्षाको कारण देखाउँदै सो आसपास मेला लगाउन दिइएको छैन् । मेला पातलिँदै गएपनि मेला भर्न आउनेको संख्या भने बाक्लो छ ।

तपाईको प्रतिक्रिया