काठमाडौं । सुन लुटपाटमा संलग्न फरार दुई प्रहरीलाई पक्राउ गर्न प्रहरी नै असफल भएको छ । लुटेरा प्रहरीलाई सोह्रखुट्टे बृत्तका डिएसपी सोमेन्द्रसिंह राठौरले जोगाएका कारण उनीहरु पक्राउ पर्न नसकेको प्रहरी स्रोत बताउँछ ।

किनकी उनीहरु पक्राउ परेको खण्डमा राठौर नै तानिने अवस्था सिर्जना भएको छ । मरुहिटीस्थित सुनका गरगहना बनाउने कारखानामा हातहतियार देखाई एक महिना अघि डकैती गर्ने छ जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो ।

महानगरीय प्रहरीवृत्त लैनचौरमा कार्यरत प्रहरी जवान अजय गुरुङ, काभ्रे घर भई ठमेलमा बस्दै आएका सुवास खरेल, धादिङ घर भई बालाजुमा बस्दै आएका सवारी चालक राजकुमार तामाङ, काभ्रे घर भई राजधानीमा डान्सबारमा काम गर्ने देव तामाङ भन्ने सुन्दर तामाङ, डान्सबारमा बाउन्सरको काम गर्ने ललितपुर बालकुमारी बस्ने पाल्देन भन्ने क्षितिज तामाङ र लाप्साङ लामालाई प्रहरीले पक्राउ गरेको थियो । उक्त घटनामा संलग्न सोह्रखुट्टे कार्यालयमा कार्यरत प्रहरी हवल्दार बलबहादुर मगर, प्रहरी जवान नवीन ढकाल र लुटेरा समूहका धादिङ छत्रेदेउराली घर भई सीतापाइला बस्ने हर्कबहादुर तामाङ भने अहिलेसम्म पक्राउ परेका छैनन् ।

मरुहिटीमा प्रेमरत्न शाक्यको पाँचतले घरको पहिलो तलामा भारत घर भएका शिव माइटीले सञ्चालन गरेको सुनका गरगहना बनाउने कारखानाबाट आठ जनाको संख्यामा आएका लुटेरा समूहले आफूहरु प्रहरी भएको र पसलमा अवैध सुनको कारोबार भइरहेको सूचना आएको भन्दै धम्की दिई लुटपाट गरेका थिए ।

लुटपाट घटनाका मुख्य अभियुक्त डिएसपी राठौरका चालक गुरुङ हुन् । फरार प्रहरी हवल्दार बलबहादुर थापामगर र बृतको लेखा शाखामा काम गर्ने प्रहरी जवान ढकालमार्फत राठौरले हुण्डी कारोबारीसँग पैसा उठाउँदै आएको स्रोत बताउँछ । स्रोतका अनुसार आफु पनि तानिने डरले राठौरले उनीहरुलाई भगाएको आशंका गरिएको छ । महाशाखाले भने अहिलेसम्म पनि फरार दुबैको खोजी भइरहेको जनाएको छ ।

महानगरिय प्रहरी परिसरका प्रमुख एसएसपी छविलाल जोशीले अपराध महाशाखाले अनुसन्धान गरिरहेको उक्त घटनाको बारेमा आफूलाई थाहा नभएको बताए । आफ्नै कार्यालयका प्रहरी लुटपाटमा मुछिदा समेत किन उनीहरुलाई पक्राउ गर्न सक्नु भएन भनी डिएसपी राठौरसँग सम्पर्क गर्दा केरकारले हेरिरहेको भन्दै उतै सोध्नु भन्दै पन्छिए ।

प्रहरी स्रोतका अनुसार डिएसपी राठौरले लुटेरा प्रहरीलाई नै हुण्डी र डलर कारोबारीको सूचना संकलनमा खटाएर अबैध रुपमा त्यस्ता कारोबारीसँग भित्रभित्रै साँठगाँठ गरि कमाउ धन्दा सञ्चालन गर्दै आएका थिए । लुटेरा प्रहरीहरुले अबैध सुन कारखानामा छापा मार्ने नाममा अन्य प्रहरी अधिकारीहरुलाई पनि ‘गतिलो माल’ फेला पर्दै छ भन्दै यस्तो अपराध गरेको खुलेको थियो ।

सोह्रखुट्टे बृतमा सरुवा भएर गएको एक वर्ष मनाएका डिएसपी राठौरका घुमुवाहरु पनि यसअघि लेनदेन तथा ठगी र चन्दा असुली घटनामा विवादमा आएर हटाइएका थिए । विशेष गरी ठमेल क्षेत्रलाई आम्दानीको अखडा बनाउँदै आएका सोह्रखुट्टे बृतका कतिपय प्रहरी अपराध नियन्त्रण गर्ने भन्दा पनि अपराधमा संलग्न रहँदै आएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।

तपाईको प्रतिक्रिया