२२ वैशाख, अमर काफ्ले इनरुवा/चल काँवरिया शिव के धाम र जय सन्तोषी माता जस्ता धार्मिक फिल्म महिना दिन सम्म हाउसफुल चलेको इतिहास बोकेको इनरुवाको कमल टाकिज सुनसान बनेको छ । हात्ति मेरा साथी, काशमिर कि कली, नदीया के पार, शोले, मर्द, हातिम ताई, आराधना जस्ता १९८० ताका कमल टाकिजमा महिनौं चलेका हिन्दी चलत्रित्र हुन् । त्यसताका अन्य फिल्म समेत खुबै रुचाइएका थिए । कान्छी, चिनो, हामी एक हौं जस्ता नेपाली चलचित्रले समेत त्यसताका निकै राम्रो दर्शक पाएको थियो कमल टाकिजले ।

२०२६ सालमा पहिलो पटक इनरुवामा सिनेमा हलको स्थापना भएको थियो । धर्कबहादुर श्रेष्ठ (गनुबाबु)ले सुरुवातमा ल्याएको सिनेमा घरले एक शोबाट श्रब्य दृश्य सहितको चल्ने भिडियो पर्दामा उतारेर प्रर्दशनमा ल्याएका थिए । सोमबार र विहीबार हटियाका दिन दुई शो चल्ने गरथ्यो सिनेमा घरमा ।

अन्य दिनमा भने एक शो मात्र चलाउने गरिएपनि दर्शकको भिड हुने केही सिनेमाहरु भने शो थपेर चलाउने कमल टाकिज त्यसताका इनरुवा सहित आसपासका सर्वसाधारणकालागि मनोरञ्जनका लागि एकमात्र रोजाईमा थियो । अझ बैशाख ८ गतेको भगवति मन्दिरको मेलाका दिन कमल टाकिजमा फिल्म हेर्नेको घुइचोका कारण पाँच शो समेत चलाउनु परथ्यो । चक्रबहादुर कार्की ५० पैशामा टिकट काटेर फिल्म हेरेको स्मरण गर्दै भन्छन् “ त्यो जमानामा चलचित्र हेर्नुको मज्जा नै बेग्लै थियो । स–परिवार सिनेमा घरमा गएर फिलिम हेरिन्थ्यो । कमल टाकिजमा टिकट काट्न तछाँडमछाँड हुने गरथ्यो ”। उनिमात्र नभएर पुरानो हलहुँदा कमल टाकिजमा चलचित्र हेरेकाहरु समयको अन्तरालसँगै हल पुग्ने जमात घट्दै मात्रै गएन फिल्मी ब्यापार समेत ओरालो लागेको बताउँछन् ।

गनुबाबुले सुरुवात गरेको सिनेमा घरमा सानै उमेरदेखि चाख राख्दै आएका कमल श्रेष्ठले उमेरको चडाभसँगै सक्दो साथ र सहयोग दिंदै बाबुको देहावशान पश्चात उक्त जिम्मेवारीलाई एकलौटी अघि बढाए । २०४९ सालमा नयाँ सिनेमा घर बनाएर कमलले चलचित्रको रङ्गिन दुनियामा रम्नेहरुको जमातलाई मनोरञ्जन प्रदान गर्ने शिलशिला अघि बढाएका थिए ।

नयाँ हल सुरुवातताका लागेको सञ्जय दत्त, सलमान खान र माधुरी दिक्षित अभिनित हिन्दी चलचित्र साजनले बजारमा खुबै रंग जमायो । घर,पसल,बजारका भित्ता मात्र नभएर जहीकहिं साजन पेन्टसले तहल्कै मच्चाएको थियो । विशेषगरी हिन्दी फिल्महरुमा हिरो, हिरोनीहरुको पहिरन र कपालको स्टाइलले आम मानसमा तत्काल प्रभाव छाड्ने गर्थ्यो । नक्कल गर्नेहरुको जमात फिल्म हेरेसँगै एकाएक बढेसँगै सम्वन्धित क्षेत्रको कारोबार समेत फस्टाउन पुग्थ्यो । त्यसताकाको कहानी सुनाउँदै कमलले भने अब त्यो जमाना कहाँ छ र । सिनेमा घरमा लगानी बालुवामा पानी सरह बनेको छ ।

परिस्कृत बन्दो नेटको सञ्जालसँगै सिडी, डिभिडीले ढाक्दो बजार र आधुनिक प्रविधीको विकासले मानविय रहनसहनमा परिवर्तन मात्र ल्याएको नभएर सिनेमा घरसम्म पुग्नेको जमातलाई समेत स्वात्तै घटाएको छ । ६०० सिट क्षमताको सिनेमा घरले लगानी समेत उठाउन छाडेपछि धुकचुक हुँदै पहिल्ला केहीवर्ष जसोतसो हल संचालन गर्दै आएका कमलले यतिबेला भने सो पेशाबाट हात झिकेका छन् । बैशाख १ गतेबाट इनरुवाको कमल टाकिज पूर्ण रुपमा बन्द भएको छ । सिनेमा घरमा प्रर्दशन गरिने फिल्मले ८ जना कामदारको तलब र हल संचालन खर्च समेत जुटाउन छाडेपछि हलनै बन्द गर्नु परेको उनको भनाई छ ।

इनरुवाको शानका रुपमा रहेको सिनेमा घर नचाहँदा नचाहँदैपनि बन्द गर्नु पर्ने अवस्था आएको प्रति चिन्तित देखिएका कमलले कोही कसैलै भाडा लिएर हल संचालन गर्न आए आफुले सकेको सहयोग गर्न तत्पर रहेको समेत सुनाए । भाडामा लिएर सुपर मार्केट सहितको सानो हल संचालनमा ल्याउने विषयमा केही व्यक्तिहरुले चासो राखेको भएपनि टुङगो भने भैनसकेको उनले बताए । एक्लो र ढल्कँदो उमेरका कारण आफु असमर्थ बन्दै गएको र सिनेमा घरको कारोबार शुन्यमा झरेकाले कमल टाकिज बन्द गर्नु परेको श्रेष्ठ बताउँछन् ।

कमलले गुद्री बजार नजिकै हल संचालनकै लागि नयाँ भवन समेत निर्माण गरेका थिए । कारोबारमा एकाएक गिरावट आउन थालेपछि उक्त भवनलाई उनले गोदाम घरमा परिणत गरेका थिए । बन्द भएको हल भवन कसैले भाडामा लिएर संचालन गरे सहयोग गर्ने बताउने उनले त्यसो नभए गोदाम बनाउने या के गर्ने भन्नेबारे सोचविचार गरेर निर्णयमा पुग्ने बताए ।

तपाईको प्रतिक्रिया