इनरुवा बैशाख २५ /आयुर्वेद औषधीको प्रयोग बढाउने सोच अनुरुप सरकारले पहल चालेपनि संचालनमा रहेका अधिकांश त्यस्ता क्लिनिकहरु भने कानुनी दायरामा छैनन् ।सरकारी निकायको उदाशिनताका साथै नियमित अनुगमन अभावमा मनोमानी ढङ्गले व्यवसायका रुपमा आर्युवेद क्लिनिक संचालनमा रहेको पाइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको अनुगमनका क्रममा धरान, इटहरीका क्षेत्रमा संचालनमा रहेका आयुर्वेद क्लिनिकका साथै होमियोपेथिक औषधालय तथा क्लिनिक आवश्यक प्रकृया पुरा नगरी संचालनमा रहेको फेला परेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने सहित जिल्ला आयुर्वेद केन्द्र इनरुवाका प्रमुख डा.सूर्य नारायण मेहता र धरान आयुर्वेद केन्द्रका रामबाबु यादव लगायतको टोलीले अनुगमन गरेको थियो ।

दर्ता सहितका आवश्यक प्रकृया पुरा नगरेको पाइएपछि धरानको फेन्दे हिमालयन सोरिग औषधालयलाई अनुगमन टोलीले स्वास्थ्य क्षेत्रमा खेलबाड नगर्न भन्दै तीन दिन भित्र पूर्ण रुपमा कानुनी प्रकृयामा आउन निर्देशन दिएको छ । फेन्दे हिमालयनले औषधीमा मिति उल्लेख नगरी विक्रि गर्ने गरेको भेटाइएको थियो । टोलीले लाइफ लाइन होमियो फार्मेसी क्लिनिक, स्र्पाक फाइभ हस्पिटल प्राली, विराट आर्युवेदमा अनुगमन गरेको थियो ।

जिल्ला आर्युवेद स्वास्थ्य केन्द्रको तथ्यांकमा सुनसरीमा क्लिनिक तथा औषधालयका नाममा ५ वटा आयुर्वेद केन्द्रको मात्र स्विकृत छ । जबकी जिल्लामा ३० बढी आयुर्वेद औषधालय तथा क्लिनिक संचालनमा छन् । होमियोपेथिक औषधालय तथा क्लिनिक समेत जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मार्फत दर्ता रही संचालन गरिनुपर्नेमा त्यसो नभएको पाइएपछि प्रशासनले सबैलाई कानुनी दायरामा आउन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया