इलाम, २६ वैशाख । इलामको माई जोगमाई गाउँपालिकामा निर्माण गरिएको जोगमाई खोला हाइड्रो प्रोजेक्टले व्यावसायिक रूपमा विधुत उत्पादन सुरु गरेको छ । ७.६ मेगावाट क्षमताको उक्त जलविधुत आयोजनाले हाल हिउँदयाममा अढाइदेखि तीन मेगावाटसम्म विधुत उत्पादन गरिरहेको छ ।सानभी इनर्जी लिमिटेडले निर्माण गरेको आयोजना निर्माण सुरु भएको २८ महिनामै सम्पन्न भई विधुत उत्पादन सुरु भएको सञ्चालक पाल्देन काजी लाप्चाले जानकारी दिनुभयो ।

रु एक अर्ब ५७ करोडमा निर्माण सम्पन्न भएको आयोजना २०७१ मङ्सिर ५ गतेदेखि निर्माण सुरु गरिएको थियो । वार्षिक चार करोड ३० लाख युनिट विधुत उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाको विधुत पावर हाउसबाट इलामको गोदकस्थित कावेली कोरिडोरको सवस्टेसनमा साढे १० किलोमिटर प्रशारण लाइनमार्फत राष्ट्रिय प्रसारणमा जोडिएको छ । लक्ष्मी बैंक लगानीकर्ता रहेको आयोजनामा अन्य बैंक कैलाश बैंक, प्रभु बैंक र भिवोर बैंकले लगानी गरेका छन् । आयोजनामा जापानको तोसिवा कम्पनीका सामान प्रयोग गरिएको सञ्चालक लाप्चाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया