अमर काफ्ले, इनरुवा २७ बैशाख/ जिल्लाको सदरमुकाम भएर पनि पिछडिएको सुनसरी सदरमुकाम इनरुवामा चौधरी ग्रुपले औद्योगिक ग्राम स्थापना गर्ने भएको छ । दुई अर्ब रुपैया लगानीमा  औद्योगिक ग्राम स्थापना गर्न लागिएको उद्योगी विनोद चौधरीले बताए।

औद्योगिक ग्रामका लागि करिब २५ विघा जग्गा किनिसकेको चौधरीले जानकारी दिए । औद्योगिक ग्राम तीन महिना भित्रै निर्माण सुरु हुने र एक वर्ष भित्रमा सञ्चालनमा आउने चौधरीले बताए । चौधरीका अनुसार औद्योगिक ग्राममा पहिलो चरणमा चौधरी ग्रुपले दुई अर्ब लगानीमा वाइवाइ चाउचाउको उद्योग स्थापना गर्ने योजना बनाएको छ । चाउचाउसंगै चौधरी ग्रुपका  सबै उत्पादनका प्लान्टहरू क्रमशः थप्दै  जाने योजना रहेको उद्योगी चौधरीले बताए ।

विकास कम भएको स्थाननै आफ्नो प्राथमिकतामा रहेको पनि चौधरीले बताए । कम विकास  भएको ठाउ“मै धेरै अवसर हुने भएकाले आफ्नो रोजाइ कम विकास भएका स्थानहरू नै हुने गरेको चौधरीको भनाई छ । कोसी हरैचा उद्योग वाणीज्य संघ, इन्द्रपुर जेसिज र लाइन्सक्लवले संयुक्तरुपमा मोरङको कोशी हरैंचामा आयोजना गरेको विजनेश सेमिनारलाई चौधरीले सम्बोधन गर्दै इनरुवामा बन्न लागेको औद्योगिक ग्रामका बारेमा जानकारी गराएका थिए । औद्योगिक ग्राम स्थापना भएसँगै इनरुवामा रोजगारको प्रशस्त अवसर सीर्जना हुनुका साथै पिछडिएको नगर औद्योगिक विकास तर्फ लम्कने चौधरीको विश्वास छ ।

तपाईको प्रतिक्रिया