इनरुवा २७ /भौतिक पूर्वाधार तथा यातायात राज्य मंत्री सीताराम मेहता बुधवार इनरुवा १ मा रहेको खेल मैदानमा कबर्ड हल शिलान्यासको क्रममा देखिए । सरकारी सुरक्षा गार्ड सहित मंत्री मेहता शिलान्यासका लागि जेल मैदान पुग्दा उनि समर्थित पार्टी कार्यकर्ता तथा शुभेच्छुक र खेलाडीहरु समेत जेल मैदानमा उपस्थित थिए ।

इनरुवा नगरपालिकाले १ करोड ८४ लाखको लागतमा निर्माण गर्न लागेको कबर्ड हल पुरोहितको मन्त्रोचारण सँगैको विधिविधान अनुसार मंत्री मेहताले शिलान्यास गरेका हुन् । मेहताले कबर्ड हल निर्माण स्थानीय खेलाडीका साथै नगरको गौरभको विषय भएको धारणा राखेका थिए । विकासमा पछि परेको नगरमा एकपछि अर्को पूर्वाधार निर्माण हुँदै गएको र शिलान्यास कार्यक्रममा सहभागि हुन पाउँदा खुशीको अनुभूति प्रकट गरेका मेहताले सकेको साथ र सहयोगका लागि सदैव तत्पर रहेको समेत बताएका थिए ।


इनरुवा नगरपालिकाका कार्यकारी अधिकृत टुबराज पोखरेलले कार्यालयको तर्फबाट गरेको  निमन्त्रणा स्विकार्दै मंत्री मेहता कबर्ड हल शिलान्यासमा पुगेका थिए । मुलुक निर्वाचनमा छ र यतिवेला सबैतिर आचार संहिता लागु छ । निर्वाचन आयोगले आचार संहिता सबैकालागि अनिवार्य हुने र उल्लंघन गरेको उजुरीका आधारमा कार्वाही गरिने बताएको पनि छ ।


निर्वाचन आचार संहिता (दोस्रो संशोधन) २०७३ को परिच्छेद ३ मा स्पष्ट रुपमा शिलान्यासको विषयसँग मेलखाने आचार संहिता उल्लेख छ । परिच्छेद ३ मा भनिए अनुसार नेपाल सरकार, सार्वजनिक संस्था र स्थानीय तहले कुनै पनि योजनाको शिलान्यास गर्ने, उद्घाटन गर्ने, सर्वेक्षण गर्ने, अध्ययन वा सोको लागि अनुदान दिने जस्ता कार्यक्रम गर्न वा गराउन हुँदैन । तर प्राकृतिक प्रकोप वा अन्य काबु बाहिरको परिस्थितिमा आयोग वा आयोगले तोकेको पदाधिकारीको अनुमति लिई कार्यक्रम गर्न सकिनेछ ।

सरकारका बहालवाला राज्यमंत्री रहेका सीताराम मेहताले शिलान्यास गरेको विषय आचार संहिता उल्लंघन अनुरुप रहेको निर्वाचन आचार संहितामा उल्लेखित परिच्छेदले स्पष्ट पारेको छ ।घटनाका विषयलाई जिल्ला निर्वाचन कार्यालय सुनसरीले समेत बहालवाला मंत्रीले शिलान्यास गरेको विषय आचार संहिताको ठाडो उल्लंघन भनेको छ । निर्वाचन अधिकृत जानकी कर्णका अनुसार उजुरी परे तत्काल कार्वाही प्रकृया थालिने बताए । निर्वाचन कार्यालयले भनेको छ “कार्वाहीमा शिलान्यास गर्ने मंत्री र आयोजना सुरुवात गराउने नगरपालिकाका प्रमुख दुवै पर्नेछन् । ”

उता आचार संहिता लागु भएको अवस्थामा कबर्ड हल निर्माणकालागि शिलान्यास गरिएको  विषयलाई इनरुवा नगरपालिका कार्यालयका कार्यकारी अधिकृत टुबराज पोखरेलले अघिल्लो आ.व.को स्विकृत बिकासे योजनाको निरन्तरता भनेका छन् । पोखरेलले आफुहरुले गरेको कामले आचार संहिता उल्लंघन नगर्ने दावी गरेका छन् ।

उता सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले आचारसंहिता उल्लंघनको विषयमा उजुरी परे सो विषयमा छानविन गरी वास्तविकता भेटिए जिल्ला निर्वाचन कार्यालयसँगको समन्वयमा कार्वाही प्रकृया अघि बढाइने बताए । शिलान्यासमा सहभागि भएका राज्य मंत्री मेहताले भने आफु संयोगवश मात्रै कबर्ड हल शिलान्यास स्थानमा पुगेको प्रतिकृया दिए । उनले आफु अनुगमनका क्रममा मात्रै त्यहाँ पुगेको जवाफ दिए ।

तपाईको प्रतिक्रिया