इनरुवा बैशाख २९/सार्वजनिक स्थानमा हुने खुलेयाम सुर्तिजन्य पदार्थ विक्रि वितरण रोक्न सुनसरी प्रशासनले कडाई गरेको छ । सुर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ कार्यान्वयन गराउने उद्येश्यसाथ प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिएको हो । शिक्षण तथा स्वास्थ्य संस्था, तोकिएको सार्वजनिक स्थानको १ सय मिटरको आसपासमा खुला रुपले सुर्तिजन्य पदार्थ विक्री वितरण गर्ने क्रम नरोकिएपछि टोलीले अनुगमनका क्रममा सम्वन्धित व्यापारीहरुलाई तीन दिने अल्टिमेटम दिएको छ  ।


सहायक प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने नेतृत्वको टोलीमा जिल्ला स्वास्थ्य प्रमुख मुकुन्द गौतम, प्रहरी नायव उपरीक्षक प्रविण धिताल, जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदी लगायत सरोकारवाला निकायका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । खुला रुपमा एकै स्थानमा दैनिक उपभोग्य सहितका सामाग्रीका साथमा सुर्तिजन्य पदार्थहरु बिक्रिकालागि राखिएको पाइएपछि अनुगमन टोलीले इनरुवा बजारका व्यापारीहरुलाई पहिलो पटक सचेत गराई तीन दिन भित्र गल्ती सुधारकालागि मौका दिएको छ । अटेर गरे सुर्तिजन्य पदार्थ जफत गरी कानुन बमोजिम कार्वाही गरिने सुनसरी प्रशासनले जनाएको छ ।

तपाईको प्रतिक्रिया