इनरुवा जेठ १०/इनरुवा नगरपालिकामा गाभिएको जल्पापुरलाई हरिनगरा गाउँपालिकामा समायोजना गर्ने मन्त्रिपरिषद्को पछिल्लो निर्णय प्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । स्थानीय तहको संख्या थप्ने क्रममा सुनसरीमा दुई गाउँपालिका थपिएका थिए ।

साविकको जल्पापुर गाविस पुर्नसंरचनाका क्रममा इनरुवा नगरपालिकामा गाभिएकोमा पछिल्लो निर्णयसँगै हरिनगरामा समायोजना गराइएको प्रति वडावासीले असन्तुष्टि जनाएका हुन् । वडा स्थित रहेका सबै राजनैतिक दलका प्रतिनीधि सहित स्थानीयवासीले उक्त निर्णयको विरोध गर्दै इनरुवामै यथावत राखिनुपर्ने माग गरेका हुन् ।

उनिहरुले जिल्ला प्रशासन कार्यालय र मूख्य निर्वाचन अधिकृतको कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन् । जल्पापुरका पूर्व गाविस अध्यक्ष इशाक मियाँले वडालाई इनरुवामै यथावत राखिनुपर्ने आफुहरुको माग सम्बोधन हुनुपर्ने बताए । पछिल्लो निर्णयले वडावासीमा चुनावी अन्यौलता सीर्जना भएको बताए । ज्ञापनमा १२ घण्टे अल्टिमेटम दिइएको छ । माग पुरा नभएर चक्काजाम र हड्ताल, सरकारी काम अवज्ञा, सम्वन्धित कार्यालय घेराउ र नाराजुलुस जस्ता दबाबमुलक आन्दोलनमा उत्रने ज्ञापनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया