इनरुवा जेठ १२/स्थानीय तह फेरवदलको विरोधमा उत्रेका जल्पापुरवासीले विद्यार्थी बोक्ने यातायातका साधन चल्न नदिएपछि इनरुवाका बोर्डिङ्गहरु बन्द गरिएका छन् । सडक अवरुद्ध गरी आन्दोलनमा उत्रेका स्थानीयहरुले विद्यार्थी बोक्ने गाडी संचालनमा समेत अवरोध पुर्याएका छन् ।

विद्यार्थी लिन गएका बसलाई जल्पापुर सडक खण्डमा अवरोध खडा गरी बसेका स्थानीयहरुले फर्काइदिएपछि युनियन अफ प्राइभेट स्कुल इनरुवाको निर्णयमा बोर्डिङ्गहरु बन्द गरिएको हो । यूपिएस इनरुवाका अध्यक्ष मनोज यादवका अनुसार विद्यार्थी बोक्न गएका सवारी आन्दोलनरत स्थानीयहरुले फर्काएपछि बसेको मिटिङले सबै बोर्डिङ्ग बन्द गर्ने निर्णय गरेको हो । अघिल्लो दिन माइकिङ गरी बन्दको आव्हान गरेको भएपनि विद्यालय संचालनको तयारीका क्रममा विद्यार्थी बोक्ने सवारीनै संचालनमा आउन नदिएपछि सवै विद्यालय बन्द गर्नुको विकल्प नभएको यादवको भनाई छ । इनरुवा यूपिएसमा २२ वटा वोर्डिङ आवद्ध छन् ।

उता जिल्ला शिक्षा अधिकारी खगेन्द्रप्रसाद सुवेदीले आचारसंहिता लागु भएको समयमा बन्द हड्ताल गर्न नहुने भएतापनि वोर्डिङ स्कुलका गाडीलाई निर्वाध संचालनमा रोक लगाएको र वोर्डिङहरु बन्द भएको बारे आफुलाई कसैले जानकारी नगराएको बताउनुभयो । सो विषयमा जानकारी लिएर माथिल्लो निकायमा जानकारी गराउने सुवेदीले बताउनुभयो ।सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद पराजुलीले आफुलाई समेत विद्यालय बन्द गरिएको भन्ने जानकारीमा नआएको प्रतिकृया दिनुभयो ।

निर्वाचन आचारसंहिता लागु रहेकाले बन्द हड्ताल गर्न नपाइने भएकाले बन्द गराउने र बन्द गर्ने दुवै पक्षसँग जानकारी माग गरि आवश्यक प्रकृया अघि बढाइने जानकारी दिनुभयो । यसअघि इनरुवा वडा नम्वर १० कायम भएको जल्पापुरलाई सरकारको पछिल्लो निर्णयसँगै  हरिनगरा गाउँपालिकामा गाभिएपछि स्थानीय राजनैतिक दलको अगुवाई सर्वसाधारण आन्दोलनमा उत्रिएका हुन्

तपाईको प्रतिक्रिया