आर्थिक वर्ष ०७१/०७२ मा नेपाल प्रहरीमा महिलामाथि हिंसा भएको भनेर १० हजार ५ सय ९३ उजुरी दर्ता भए । यति बिध्न ज्यादती हुँदापनि सरकारसँग महिला सुरक्षा सम्बन्धि कुनै बिशेष कार्यक्रम छैन ।
    
सुजाता ढुंगाना

rape-sckeh-mahila

महिला हिंसाविरुद्धको १६ दिवसीय अभियान नोभेम्बर २५ देखि १० डिसेम्बरसम्म विश्वभर  मनाईँदै छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन दिदीवहिनीलाई तत्कालिन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रुपमा लिने गरिन्छ । एकै परिवारका तिन दिदीवहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रुपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिवसीय अभियान मनाउन थालिएको हो । सन १९९९ डिसेम्बर १७ तारिखमा संयुक्त राष्ट्र संघले महिलामाथि हुने हिंसा विरुद्धको दिवसको रुपमा नोभेम्बर २५ लाई मनाउन थालेपछि १६ दिवसीय अभियानले निरन्तरता पाएको हो । नेपालमा यस अभियानको थालनी सन् २००४ देखिमात्र भएको हो ।

नेपाल प्रहरीको तथ्यांक हेर्दा महिलामाथि हुने हिंसाको घटना डर लाग्दो देखिन्छ । आर्थिक वर्ष ०७१/०७२ मा महिलामाथि हुने हिंसाका १० हजार ५ सय ९३ घटना दर्ता भए । तर, ०७०/०७१ मा यो संख्या ८ हजार ८ सय ३९ थियो । तथ्यांकलाई हेर्दा सबै भन्दा धेरै महिला घरेलु हिंसाको सिकार भएका छन् भने जबरजस्ती करणी र जबरजस्ती करणीको प्रयासका घटना क्रमशः दोस्रो र तेस्रोमा पर्न आउँछन् । चेतना बढेसँगै हिंसाका घटनामा कमी आउनु पर्ने हो तर, त्यसको विपरित चेतना बढेसँगै महिला हिंसाका घटना बढेको नेपाल प्रहरीको तथ्यांकले देखाउँछ । ०५३/०५४ को तथ्यांकलाई हेर्दा महिलामाथि भएका हिंसाको ७ सय ८० वटा घटनामात्र प्रहरीमा दर्ता भएका थिए । यो क्रम ०६१/०६२ सम्म आईपुग्दा १ हजार २३ थियो । पछिल्ला ५ वर्ष यता महिला हिंसाका घटनाको उजुरी ह्वातै बढेको प्रहरीको तथ्यांकले देखाउँछ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) को महिला तथा बालिकाविरुद्ध भएको हिंसा सम्बन्धी अध्ययन प्रतिबेदनलाई आधार मान्ने हो भने सन् २०१३ को तुलनामा सन् २०१४ मा महिलामाथि हुने हिंसा बढेको छ । इन्सेकको तथ्याङ्क अनुसार सन् २०१३ मा महिलामाथि भएका हिंसाको संख्या २ हजार ३ सय ४८ थियो भने ७ सय बालिका पीडित थिए । सन् २०१४ मा आइपुग्दा महिला हिंसाको संख्या ३ हजार ५ सय २२ र बालिका हिंसाका घटना ८ सय ४६ देखिन आउँछ ।

महिला हिंसाका घटना बढ्नुको कारण के हुन सक्छ ? प्राय अधिकारकर्मीको भनाई एकै खालको छ । उनीहरूका भनाइमा घटना अहिले बढे्को होइन, हिजो पनि थियो । तर आज उजुरी गर्नेक्रम बढेको हो ।

महिला मानब अधिकार रक्षक संजालकी केन्द्रिय सदस्य महेश्वरी राईका भनाइमा, हिंसाका घटनाको उजुरी गर्ने क्रम बढेको छ, प्रहरीको महिला सेल प्रभावकारी भएको छ, महिलामा हिंसा सहनु हुँदैन भन्ने चेतना बढेको छ । उनी भन्छिन् ‘नयाँ संविधान भर्खरै आएको छ, आसा गरौँ अब बन्ने कानुनले महिलामाथि हिंसा गर्नेलाई दण्डित गर्न कडा प्रावधान ल्याउने छ ।’ हिंसा बढेको हैन हिंसाको अभिलेखिकरणमात्र बढेको राईको तर्क छ । घरको कुरा बाहिर भन्नुहुन्न, गाउँको कुरा गाउँमा मिलाउनु पर्छ भन्ने सोचमा परिवर्तन आएकाले पनि महिला हिंसाका घटना बढी देखिएको उनको बुझाइ छ ।

महिलामाथि हुने हिंसाका घटनामा पुरुषको सहभागिता भएपनि सबै पुरुष खराब छन् भन्ने मानसिकतामा भने परिवर्तन ल्याउन पर्ने हुन्छ । महिलामाथि हुने हिंसाको विरोधमा पुरुष सचेतना कार्यक्रम गर्दै आएका मेन इन्गेज एलायन्स नेपालका संयोजक कपिल काफ्ले महिला र पुरुष समान हुन् भन्ने कुरा समाजमा स्थापित गर्न आवश्यक रहेको बताउँछन् । २००७ देखी ‘मेन इन्गेज एलायन्स’ मार्फत निरन्तर काम गरिरहेका कपिल भन्छन् ‘महिला र पुरुष सँगै मिलेर अगाडी बढेमात्र समाजमा समानता कायम रहन सक्छ त्यसैले हामी मिलेर सँगै काम गर्न अपिल गरिरहेका छौँ ।’ अधिकारकर्मी गौरी प्रधान महिलामाथि हुने हिंसाका घटनाको रुप फेरिएको बताउँदै काम गर्ने ढाँचामा परिवर्तन ल्याउन जरुरी रहेको बताउँछ । समानता, समता, सहभागिता र शसक्तिकरणलाई मुख्य रुपमा अबलम्बन गर्नु पर्ने अधिकारकर्मी प्रधानको भनाइ छ ।

राजनीतिक रुपमा नेपालले राष्ट्रपति र सभामुख जस्तो गरिमामय पदमा महिला पाएको भएपनि सामाजिक रुपमा महिलामाथि हेर्ने दृष्टिकोण नबदलिएको अधिवक्ता रक्षा बस्याल बताउँछिन् । प्रहरीमा आएका अधिकांश घटनालाई मेलमिलापमा लगिने भएकाले पनि पीडकको मनोवल बढ्ने गरेको उनको बुझाई छ । बस्याल भन्छिन् ‘हामी पीडितलाई न्याय दिलाउन भन्दा पनि मिलेर बस्नुपर्छ भन्ने परिपाटीको विकास गराउन खोज्दैछौँ । यसले एकातिर पीडकको मनोबल बढ्न जान्छ भने अर्कातिर पीडितलाई सहनुपर्ने रहेछ भन्ने संस्कारको विकास गराउँछ ।’

अधिकारकर्मी सबिता पोखरेल प्रहरीमा उजुरीकर्ताको संख्या बढ्दै जानु सकारात्मक भएपनि पीडितलाई न्याय दिलाउने तर्फ सरकार गम्भिर नभएकाले अवस्था झन् डर लाग्दो देखिएको बताउँछिन् । कानुनी राज्यको प्रत्याभुति दिलाउन सरकार चुकेको पोखरेलको आरोप छ ।

अभिलेखमा महिला हिंसाका घटना प्रत्येक वर्ष बढ्दैछन् । अहिले पनि साँच्चै महिला हिंसा बढेको हो वा उजुरीमात्र बढेको हो भन्ने बारे भने कसैले अध्ययन गरेको देखिदैँन । लिंगका आधारमा गरिने हिंसा दण्डनीय हुन्छ । नेपाल जस्तो पितृसतात्मक सोच भएको देशमा महिलामाथि हुने हिंसा न्यूनिकरण गरेर लैजानु निकै चुनौतिपुर्ण काम हो । लामो समयदेखि महिला हिंसा न्युनिकरण र महिला शसक्तिकरणका क्षेत्रमा सरकारी तथा गैरसरकारी संघसंस्थाले काम गरिरहेका छन । प्रहरीसम्म उजुरी गर्न पुगेका थोरै घटनामात्र अदालतसम्म पुग्नले पीडितलाई न्याय र पीडकलाई दण्ड दिने काम नभए पुष्टि हुन्छ ।

 

तपाईको प्रतिक्रिया