काठमाडौं, १८ जेठ । दलहरूबीच सरकार गठनमा सहमति नजुटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा बहुमतीय प्रक्रियाका सुरु गर्न बिहीबार आह्वान गर्ने भएकी छिन् । राष्ट्रिय सहमतिको सरकार गठनका लागि दिइएको सात दिनको समय बुधबार सकिएको छ ।

राष्ट्रपति भण्डारीले प्रमुख तीन दलसहित संसद्मा प्रतिनिधित्व गर्ने नौ दलका नेतालाई बुधबार शीतलनिवासमा बोलाएर सहमतीय सरकार गठनको प्रयासबारे जानकारी लिएकी थिइन् । तर, छलफलमा सहभागी प्रमुख तीन दलका शीर्ष नेताले सहमतिको सम्भावना कम देखिएको भन्दै प्रयास जारी रहेको बताएका थिए ।

राजनीतिक दलहरूबीच राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहमति नजुटेकाले बिहीबारै राष्ट्रपति भण्डारीले बहुमतीय प्रक्रिया अघि बढाउन संसद्लाई पत्राचार गर्ने उनका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले बताए । ‘राष्ट्रपतिज्यूले तपाईंहरू सहमतिमा पुग्नुहुन्न भने बिहीबार बहुमतीय प्रक्रिया आह्वान गर्नुपर्ने हुन्छ भन्ने कुरा दलका नेताहरूलाई बताइसक्नुभएको छ,’ प्याकुरेलले भने, ‘अब बहुमतीय प्रक्रियाबाटै संसद्ले प्रधानमन्त्री चुन्ने प्रक्रिया अघि बढाउँछ ।’

बहुमतीय प्रक्रियाबाट यसरी चुनिन्छन् प्रधानमन्त्री

राष्ट्रपति विद्या भण्डारीले बिहीबार संविधानको धारा २९८ को उपधारा ३ अनुसार व्यवस्थापिका–संसद्को तत्काल कायम रहेका सम्पूर्ण सदस्यको बहुमतबाट प्रधानमन्त्रीको निर्वाचन गर्न सभामुखलाई सम्बोधन गर्दै संसद्लाई पत्र पठाउनेछिन् । राष्ट्रपतिको पत्रपछि संसद्को नियमावली २०७३ को नियम ४९ अनुसार संसद्ले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु गर्नेछ ।

बहुमतीय आधारमा हुने निर्वाचन प्रक्रियाका लागि सभामुखले निर्वाचन कार्यतालिका तोक्दै संसद्का महासचिवलाई निर्वाचन अधिकृत तोकी प्रक्रिया अगाडि बढाउने प्रावधान छ । निर्धारित समयतालिकामा प्रधानमन्त्रीका उम्मेदवारले आफूलाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्दै एक–एकजना समर्थक–प्रस्तावक राखी उम्मेदवारी दर्ता गर्नुपर्ने हुन्छ । त्यसपछि संविधानको धारा २९८ को उपधारा ३ बमोजिम संसद्को तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था छ। अाजको नयाँ पत्रिकामा खबर छ।

तपाईको प्रतिक्रिया