काठमाडौं, १८ जेठ । यस पटकको स्थानीय तहको निर्वाचनमा अछाममा एउटै नामको व्यक्ति उम्मेदवार बन्ने क्रम बढेको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ८ को हत्तिकोटमा प्रमुख तीन दलका वडा अध्यक्षका उम्मेदवार खगेन्द्रबहादुर साउद नामका बनेको खबर बाहिर आएसँगै अछामकै अर्को तुर्माखाँद गाउँपालिकामा पनि यस्तै भेटिएको छ ।

तुर्माखाँद गाउँपालिकाको प्रमुख पदमा तीन दलले टिकट दिएका व्यक्ति, वडा नम्बर ३ भैरवस्थानको वडा अध्यक्ष तथा वडा सदस्य गरी पाँच उम्मेदवारको नाम पदमबहादुर बुढा भएको खुलेको छ ।

नेकपा एमालेले तुर्माखाँद गाउँपालिकाको प्रमुखमा २०५४ को स्थानीय निर्वाचनमा भैरवस्थान गाविसबाट अध्यक्ष निर्वाचित पदमबहादुर बुढालाई नै टिकट दिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गाउँपालिका प्रमुखमा २०५४ को निर्वाचनमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचति पदमबहादुर बुढालाई नै टिकट दिएको छ । अर्को दल नेपाल मजदुर किसान पाटीले पनि भैरवस्थानकै पदमबहादुर बुढालाई नै गाउँपालिका प्रमुखको टिकट दिएको छ।

यस्तै नेकपा एमालेले भैरवस्थान वडाको अध्यक्ष पदको उम्मेदवारमा पनि पदमबहादुर बुढालाई नै टिकट दिएको छ । सोही वडाको वडा सदस्य पदमा नेपाली कांग्रेसले टिकट दिएका खुल्लातर्फका सदस्यका उम्मेदवारको नाम पनि पदमबहादुर बुढा नै रहेको छ ।

तुर्माखाँद गाउँपालिकामा नेपाली कांग्रेसबाट प्रमुख पदमा टिकट पाउने प्रवल सम्भावनामा रहेका व्यक्ति तथा कांग्रेस र माओवादी केन्द्र दुबै दलले भैरवस्थान वडामा वडा अध्यक्ष पदमा टिकट दिएका तीन वटै उम्मेदवारको नामको पहिलो अक्षर पनि ‘प’ बाट नै आउने छ ।

कांग्रेसबाट गाउँपालिका प्रमुख पदका लागि युवा नेता पुष्पराज शर्माले टिकट पाउने प्रवल संभावना देखिन्छ । यस्तै कांग्रेसले भैरवस्थानको वडा अध्यक्षमा प्रकाश बुढा तथा नेकपा माओवादी केन्द्रले सोही वडामा टिकट दिएका उम्मेदवारको नाम प्रेम बुढा छ ।अाजको अन्नपूर्ण पोस्टमा खबर छ।

तपाईको प्रतिक्रिया