इनरुवा जेठ १९/साविक मधेशा गाविस रहेको हालको इनरुवा नगरपालिका वडा नम्वर ६ मा एमालेको उम्मेदवारी चयनको विषय निकै पेचिलो बनेको छ । वडा अध्यक्षकालागि ५ जना आकांक्षीवीचको हानाथाप पार्टी पंक्तिले जसोतसो टुङ्ग्याएपनि त्यसले अन्तरघातको सम्भावना बढाएको स्रोतको भनाई छ ।
 
निकै लामो रस्साकस्सीकावीच साविक मधेशा हालको इनरुवा ६ को वडाअध्यक्ष पदको उम्मेदवार टुङ्गो लगाइएको एमाले स्रोत बताउँछ । जसमा कोषराज अधिकारीको नाम अग्रपंक्तिमा आएको छ । यद्यपी पार्टीले आधिकारिकता भने दिएको छैन् । एमाले स्रोतका अनुसार वडा ६ को अध्यक्षमा कोषराजलाई उठाउने पक्कापक्की भएको छ ।
 
स्रोतको भनाईको आधारमा वडा अध्यक्षमा अधिकारीले उम्मेदवारी पाए त्यो उनकालागि चिट्ठा सरह हुने एमाले कार्यकर्ताहरुको बुझाई छ । मधेशामा कमल कार्की, लक्ष्मण कार्की, तिर्थ अधिकारी र हेमनारायण चौधरी सहित कोषराज अधिकारी अध्यक्षको आकांक्षीका रुपमा देखिएका थिए ।
 
हेमनारायण चौधरीले अध्यक्षको लागि निकै कसरत गरेपनि नगर कमिटीमा लैजाने पार्टी पंक्तिको आश्वासन सँगै उनि पछि हटेका थिए । अध्यक्षको आकांक्षीको सूचिबाट चौधरी हटेपनि कमल, लक्ष्मण, तिर्थ र कोषराजवीचको दौडधुपले मधेशामा एमाले उम्मेद्वार छिनोफानोको विषयले अन्तरघातको सम्भावना बढाएको एमाले कार्यकर्ताहरुको भनाई छ । उम्मेद्वार छनौटको टुङ्गो लगाउने जिम्मा पाएका प्रदेश इन्चार्ज भिम आचार्यले सहमतिको प्रयास जुटाउन नसक्दा कमल र लक्ष्मण गुटवीचको बढ्दो टकराबनै पोषराजकालागि चिट्ठाको अवस्था सीर्जना भएको जानकारहरु बताउँछन् ।
 
पार्टी केन्द्रिय सदस्य धर्मराज निरौलालाई छनौटको जिम्मेवारी सुम्पेर आचार्य राजधानी हानिएपछि लिखित, मौखिक परीक्षा र आन्तरिक सहमतिका क्रममा पोषराजले बाजी मारिसकेको स्रोतको दावी समेत छ ।कमल र लक्ष्मण कार्कीवीचको हानाथापको विकल्पका रुपमा तिर्थ अधिकारीलाई भिम आचार्यकै मौन सहमतिमा अघि सारिएको भएपनि अन्ततः कोषराजको पक्षमा सहमति जुटेको एमाले स्रोतको भनाई छ ।  यद्यपी कोषराजको पक्षमा सहमति जुटेको भएपनि मधेशामा पाटी भित्र अन्तरघातको सम्भावनालाई भने प्रवल बनाएको अगुवा कार्यकर्ताहरुले औंल्याएकाछन् । जसलाई पार्टीले बेलैमा समाधान गर्न जरुरी रहेको उनिहरुको भनाई छ ।  एमालेका वडा स्तरीय नेता तथा कार्यकर्ताहरुले सिङ्गो पार्टीको पक्षमा उभिने बताएपनि आपसी टकराब र गुटबन्दी हावी हुन सक्ने तर्फ सचेत रहन पार्टी पंक्तिलाई सुझाएका छन् ।
 
अध्यक्षको विवाद तत्कालकालागि साम्यझै देखिएपनि मधेशामा सदस्य पदको विषयलाई लिएर कार्यकतामाझ असन्तुष्टि बढेको छ ।  एमाले मधेशा वडा स्रोतका अनुसार अध्यक्षका आकांक्षीका रुपमा रही नगर कमिटीमा लैजाने सहमति पश्चात पछि हटेका हेमनारायण चौधरीले अन्तिम समयमा आएर  उम्मेद्वारीको दावी गरेपछि सदस्य पदको विषयलाई लिएर कार्यकर्तामा असन्तुष्टि बढेको स्रोतको भनाई छ  ।
खुल्ला सदस्यमा राजेश दाहाल र गिरिचन्द्र पोखरेलको नाम पार्टीले आधिकारिक घोषणा गरीनसकेतापनि पार्टीको वडा, नगर र जिल्ला तहले उम्मेदवारीकालागि आन्तरिक सहमति जनाईसकेको अवस्थामा चौधरीले बखेडा झिकेर अध्यक्ष द्धारिकलाल चौधरीको दबावमा सदस्य पदकालागि गरेको दावीलाई कार्यकर्ताले नस्विकार्ने संकेत देखाएको एमाले स्रोतको भनाई छ  ।
 
घरदैलो कार्यक्रममा भोट माग्दै जनाधार तयार पारिसकेका पोखरेललाई हटाएर दोस्रो व्यक्ति प्रवेश गराउन खोज्नु पार्टीकालागि दुर्भाग्यपूर्ण हुन सक्ने तर्फ कार्यकर्ताहरुले जिल्लातहलाई सचेत गराएको भएपनि वेवास्ता गरिएको प्रति कार्यकर्ताहरुले रोष प्रकट गरेका छन् ।
जनाधार तय भैसकेको अवस्थामा विभिन्न विषयलाई लिएर पटक पटक विवादमा मुछिदै आएका र पार्टीभित्रै समेत विश्वास जित्न नसकेका व्यक्तिलाई दिइने उम्मेदवारीले सुनिश्चित सरह रहेको पार्टीको जीतलाई जोगाई राख्न हम्मेहम्मे पर्ने र परिणाम विपक्षी पार्टीको उम्मेदवारको पोल्टामा जान सक्ने सम्भावना बढेको भन्दै स्थानीय एमालेका नेता तथा कार्यकर्ताहरुले त्यसो भए सम्पूर्ण जिम्मेवारी सिङ्गो पार्टीले लिनुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया