काठमाडौं, २४ जेठ । गगन थापाले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवल बन्न खोज्दा अहिले एक सय ४१ युवा रुनु न हाँस्नुको अवस्थामा पुगेका छन् । स्वास्थ्य मन्त्रालय छाड्नुअघि गरेको पत्रकार सम्मेलनमा उनले मन्त्रीको रुपमा गरेका कामहरु बयान गराउँदै पत्नीलाई रुन लगए, अनलाइनहरुमा फोटो पनि हाल्न लगाए ।

तर, दिनैपिच्छे टेकुमा गगन सराप्दै रुने यी एक सय ४१ युवाको आँशु भने अनलाइनहरुले अहिलेसम्म भेटेका छैनन् ।

मन्त्रालयमातहत रहने गरी बिनाअध्ययन जनता सेवा केन्द्र स्थापना गर्ने घोषणा गरे । त्यहि नामको सेवा केन्द्र दिल्लीमा केजरीवालले बनाएका छन् । जनताका दैनिक स्वास्थय सरोकार र समस्याहरुको निःशुल्क समाधान गर्ने नाममा खोल्ने भनिएको उक्त केन्द्रको शाखा देशभरका सम्पूर्ण महानगर र उपमहानगरपालिकाहरुमा रहने अवधारणा अनुसार त्यस्तो गरिएको थियो ।

१३ वटा शाखा बनाउने योजनाअनुसार एक सय ४१ जनाको दरबन्दी खडा गर्दै सार्वजनिक सूचनामार्फत कर्मचारी आह्वान पनि गरियो । छनौटको जिम्म दिइएको थियो, स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको पुनर्जागरण महाशाखालाई । उक्त शाखाले आवेदकमध्येबाट एक सय ४१ जना छनौट गरी परिणाम निकाल्यो । तर, नियुक्ति दिइएन ।

प्रतिस्पर्धाबाट छनौट भएका ती कर्मचारी अहिले कहिले स्वास्थ्य सेवा विभाग त कहिले मन्त्रालय धाउँदै हिँडेका छन् । त्यसमध्ये कतिपयले सरकारी जागिरको लोभमा खाइरहेको प्राइभेट जागिर छाडेर त्यसमा आवेदन गरेका थिए । कतिपयले अरु अवसर पाउँदा पाउँदै पनि स्वास्थ्य क्षेत्रमा काम गर्ने रुची राखेर प्रतिस्पर्धामा भाग लिएका थिए । तर, उत्तीर्ण भएको महिनौं हुँदासम्म पनि नियुक्तिपत्र दिइएको छैन ।जनआस्था साप्ताहिकमा खबर छ।

तपाईको प्रतिक्रिया