इनरुवा जेठ २६/इनरुवा अस्पतालमा शुक्रबारबाट फार्मेसी सेवा संचालनमा आएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरुले हाताभित्र आफ्नै फार्मेसी संचालन गर्नुपर्ने नीति अनुरुप इनरुवा अस्पतालले औषधी विक्री कक्ष संचालनमा ल्याएको हो ।
लामो समय ठेक्कामा संचालन भएको फार्मेसी सरकारी संयन्त्रबाटै संचालन गरिनुपर्ने मन्त्रालयको आदेशसँगै प्रकृयामा लैजाने क्रममा केही महिना बन्द रहेको थियो ।


शुक्रबार सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले २४सै घण्टा सेवा संचालनमा आउनेगरी उक्त फार्मेसीको उद्घाटन गरेका थिए । प्रजिअ पराजुलीले स्वास्थ्योपचार र अन्य सेवा प्रवाहका सन्दर्भमा पछिल्लो समय इनरुवा अस्पतालले चालेका कदम सराहनिय रहेको बताए । विश्वसनिय र निरन्तर सेवा प्रवाहमा जुट्न प्रजिअले स्वास्थ्यकर्मी लगायत सरोकारवालाहरुलाई आग्रह समेत गरे । कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुद मुकुन्दराज गौतमले सेवा र सुविधाको दृष्टिकोणले इनरुवा अस्पताल क्रमश फड्को मार्ने क्रममा रहेकाले स्वास्थ्योपचारकालागि अन्यत्र भौतारिनुपर्ने अवस्थाको अनत्य हुने विश्वास व्यक्त गरे ।


अस्पतालले संचालनमा ल्याएको फार्मेसीबाट सर्वसाधारणले १० प्रतिशत छुट मूल्यमा औषधी खरिद गर्न पाउने छन् । तत्काल ५ लाख लागतमा संचालनमा ल्याइएको सो फार्मेसीमा सरकारले उपलब्ध गराएका निःशुल्क औषधी भने पाइने छैन् । औषधी विक्री वितरणकालागि मन्त्रालयले २ जना दक्ष जनशक्ति उपलब्ध गराएको छ । इनरुवा अस्पतालबाट थप २ जनागरी ४ जनाले पालैपालो २४ घण्टे सेवा उपलब्ध गराउने इनरुवा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कटवालले जानकारी दिए । फार्मेसी संचालनलाई व्यवस्थित बनाइने भएकाले सर्वसाधारणले ठगिने, औषधी अभाव हनुे र ढिलासुस्ती जस्ता समस्याबाट छुटकारा पाई सहज अनुभूति गर्ने समितिको विश्वास छ ।

तपाईको प्रतिक्रिया